२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘द स्कुल वाल’ ले भारतको चलचित्र महोत्सवमा जित्यो ३ विधामा अवार्ड



काठमाडौं । भारतको इन्टरनेशनल स्टार सिने अवार्डमा नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ ले ३ विधामा अवार्ड प्राप्त गरेको छ । भारतको वन्ली फिल्म फेस्टिभलको आयोजना रहेको सो चलचित्र महोत्सवमा ‘द स्कुल वाल’ ले बेष्ट सर्ट फिल्म, बेष्ट स्टोरी ओरिजिनल र बेष्ट डिरेक्टर जुरी मेन्सन अवार्ड पाएको छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको यस लघुचलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् ।

लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका हुन् । थुप्रै लघुचलचित्र तथा नाटकहरु निर्माण गरिसकेका क्षेत्री ‘द स्कुल वाल’ छोटो समयमा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विजेता बनेकोमा खुशी लागेको बताउँछन् । हामीजस्ता भुइँमान्छेले निर्माण गरेको लघुचलचित्र अन्तराष्ट्रिय बजारसम्म पुग्नु नै ठूलो कुरा हो । यसले अझै केहि गर्ने जोश, जाँगर र आँट थपिदिएको छ । अब चाँडै ठूलो पर्दाको चलचित्र निर्माण गरिने उनी बताउँछन् ।

‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएकोे छ । काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् ।

लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘द स्कुल वाल’ ले रसियाको किनो चलचित्र महोत्सवको फाईनलमा पनि विजेता बनेको थियो । यो लघुचलचित्रले ‘१३ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा ‘बेष्ट नेशनल स्टुडेण्ट फिल्म अवार्ड’, छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार, ग्लोबल एक्सिलेन्स अवार्डमा बेष्ट सर्ट फिल्म अवार्डसमेत प्राप्त गरेको थियो ।

‘द स्कुल वाल’ अमेरिकाको फेस्टिभल एन्जेलिका र स्मलरिग्स अवार्ड, नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, इटालीको वर्क एण्ड इन्टरप्राइजेज फिल्म फेस्टिभल अवार्ड, इजिप्टको पोर्ट सेड फिल्म फेस्टिभलमा छनोटमा परेको थियो । त्यस्तै ब्राजिलको फेस्टिभल द सिनेमा स्टुडेन्टि द ग्युबा, मलेसियाको क्वालालाम्पुर इन्टरनेशनल फिल्म अवार्ड, कोरियाको वन वल्र्ड वन फ्लावर इन्टरनेशनल बुद्धिष्ट फिल्म फेस्टिभल, भारतको सिएमएस, इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्स र फस्ट टाईम फिल्म मेकर सेसन्समा पनि छनोट भएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।