२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘खेल’ समिक्षा : हेर्दा हेर्दै दिमाग खाने चलचित्र



ललितखबर
शुक्रबारबाट देशभर एउटा चलचित्र प्रर्दशन सुरु भएको छ । चलचित्रको नाम हो ‘खेल’ । लाग्न सक्छ, यो चलचित्रमा खेलाडीको कथा होला । ट्रेलर हेर्दा त्यस्तै छनक दिन्छ । तर तान्त्रिक विद्याको ‘खेल’ खेल्दा निम्तिएको विषम परिस्थितीको रोचक घटनाहरु चलचित्र ‘खेल’मा समेटिएकोे छ ।
कथासार
काठमाडौं उपत्यकामा ठूलो ताल थियो । मञ्जुश्रीले तान्त्रिक विद्याले चोभारको डाँडा काटेर यहाँको पानी फ्याके । पानी फ्याकेपछि यो तालमा रहेका नागहरु नागदह र टौदहमा गएर बसे । त्यसपछि राजधानीमा धेरै मन्दिरहरु तान्त्रिक विद्यामा आधारित भएर निर्माण भए । राजधानीको नागेडाँडामा रहेको भ्याली हेरिटेज स्कूलमा अध्ययनरत होस्टलमा बस्ने युवतीहरुको यिनै तान्त्रिक विद्या र जादुको असफल प्रयोगबाट आइलागेको आपत नै चलचित्र खेलको कथा हो ।

सुन्दर पक्ष

सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’ दर्शकलाई रोमाञ्चक अनुभव गराउन सफल छ । तर निर्देशकले चलचित्रको कथालाई आवश्यकत्ताभन्दा धेरै घुमाउदा दर्शकको दिमाग फनफनी घुम्छ । चलचित्र हेरुञ्जेल बाहिरी संसार विर्सिन्छ । मज्जा लाग्छ ।

चलचित्र छायांकनका दृश्य पनि गज्जव छन् । राजधानी नजिकैको धुलि‘खेल’ शहरको काठमाडौं विश्वविद्यालयका दृश्यले वास्तविक नागेडाँडा स्कूलको प्रतिविम्ब दिएको छ । चलचित्रमा देखिएको भग्नावशेषले दर्शकमा थ्रिल महसुस गराउछ । कथाका घुम्तीहरुले अनौठो सस्पेन्स श्रृजना गराएको छ ।
तान्त्रिक विद्याबारे ज्ञान भएका ती विद्यार्थी (युवती)हरुले एक अर्काविरुद्ध प्रयोग गर्दा निम्तिएको ठूलो दुर्घटनालाई चलचित्रमा रोचक ढंगबाट देखाउने प्रयास गरिएको छ । चलचित्रमा अनगिन्ती कालो जादु (व्याक म्याजिक) प्रयोग गरेर रोचक बनाइएको छ ।
इतिहास भूतप्रेत र जादुमय संसारमा रुचि राख्नेहरुका लागि चलचित्र रुचिकर हुन सक्छ । चलचित्रमा सामान्य रुपमा अघि बढाउदै सस्पेन्स मिसाउदै थ्रिल श्रृजना गर्न सकेको भए झनै गज्जव हुन्थ्यो, शायद । बरु मध्यान्तरका दृश्यहरु चलचित्रमा रमाइलो हुन्छ । अन्त्य राम्रो छैन । सिक्वेल बनाउने लोभमा शायद फिस्स बनाइएको होला ।
चलचित्र हेर्ने क्रममा धेरै ठाँउमा जीउ नै सिरिङ हुन्छ । कतिपय दृश्य हेरिरहँदा डर पनि लाग्छ । चलचित्रमा प्रयोग भएको पार्श संगीतले मन छुन्छ ।
चलचित्रमा पाँच अभिनेत्रीहरुको मुख्य भूमिका छ । पुरुष पात्रको गौण भूमिका रहेको यो अपवाद चलचित्र हो भन्दा फरक नपर्ला । राम्रो कथा र प्रस्तुती भए महिला पात्रहरुले मात्रै चलचित्र धान्न सक्छन् भन्ने चलचित्रले पुष्टि गर्ने कोसिस गरेको छ ।

कलाकारहरुको अभिनय मौलिक छ । उनीहरुको अभिनय हेरिरहँदा ठाँउ ठाँउमा जीउ सिरिङ हुन्छ । कतिलय दृश्यहरु रोचक र मुटु नै ढुकढुक हुन्छ । तान्त्रिक विद्यालाई ठट्टाको रुपमा लिनुहुन्न भन्ने चलचित्रले दिन्छ । धेरैलाई रमाइलो स्कूले जीवनका रमाइला पलहरु पर्दामा हेर्न पाइन्छ

कमजोरी

चलचित्रमा कतिपय कुरा प्रष्ट हुन्न । कलेजमा अकस्मात रोग कसरी काला जादु र तन्त्रमन्त्रको कारण फैलिएको हो भन्ने पुष्टि हुन्न । कलेजमा मात्रै रोग फैलिनु र विद्यार्थीहरु शितलादेविको पुजा गर्न जाँदा गाँउलेहरु सशंकित हुनुले चलचित्रको कथा गइराइमा पुगरे निर्माण गर्न चुकेको महसुस हुन्छ । चलचित्रको अर्को कमजोरी दिमाग घुमाउने कथा हो । लेखक विष्णु गैरेले चलचित्रलाई रोचक बनाउन कथालाई सातफन्का घुमाएका छन् । कथामा ठाँउ ठाँउमा ट्वीट नै ट्वीस्ट भेटिन्छ ।
चलचित्रको कथ्यशैलीले पनि रनभुल्ल पार्छ । ६ बर्षअघिको घटनालाई पात्रहरुले आ आफ्नो दृष्टिकोणबाट भनेका छन् ।


चलचित्रले हँसाउदैन, रुवाउदैन, गीतनृत्य,द्वन्द्वजस्ता कुराको नामोनिसाना केही छैन । नेपाली हरुले हेर्ने गरेको चलचित्र जस्तो छैन ‘खेल’ । टेलिभिजनमा हेरिने सिरिजजस्तो लाग्नसक्छ । लम्बेतान कथा हेर्दा धेरै ठाँउमा बोर हुन्छ । चलचित्रले मनोरञ्जनमात्रै दिन्छ । खासै सन्देश भने दिदैन ।
चलचित्रमा भूत प्रेत पिचास हैन डेमोन छ । तान्त्रिक विद्या अनि उइजा बोर्ड र डेमोनको त्रासदीले कथामा लय नमिलेको जस्तो लाग्छ । चलचित्रमा इतिहास र परम्परा अनि ऐतिहासिक पृष्टिभूमिमा पश्चिमा संस्कृती घोलिएकोले नमिठो लाग्छ । नेपाली माटो र संस्कृतीमा सुनिने भूत प्रेत र पिचासलाई मिसाएको भए दर्शकलाई झन् रुचिकर लाग्थ्यो, शायद ।
चलचित्रको सुरुवात नै डरलाग्दा घटनाबाट हुन्छ । सामान्य घटनाबाट तान्दै दर्शकलाई चलचित्रको कथामा प्रवेश गराउदै अघि बढाएको भए राम्रो हुन्थ्यो । डरलाग्दो घटनाबाट सुरु भएको चलचित्र मध्यान्तरमा भरपुर मनोरञ्जन पाइन्छ । अन्त्य भने दिक्कलाग्दो छ । चलचित्रको अन्त रमाइलो छैन । मज्जा आउदैन ।
चलचित्रमा यती धेरै तिकडम हुन्छ कि चलचित्रका पात्रहरु ‘को कोविरुद्ध खेलिरहेको छ’ छुट्याउन गठीन हुन्छ । चलचित्रको कथामा रिगटा लाग्ने घुम्तीहरु छन् । कथा यसरी फनफनी घुमाइएको छ कि एक पछि अर्को आउने आचार्यजनक घटनाहरुले दर्शक रनभुल्ल बन्छन् ।

प्रविधि
रोसन राई र सञ्जय लामाको चलचित्रमा सिनेमेट्रोग्राफी दामी छ । अध्यारोमा सुन्दर चलचित्र खिच्न सिनेमेट्रोहरु खप्पिस रहेको चलचित्रले प्रमाणित गरेको छ । राजेन्द्र मोक्तानको रंग संयोजनमा गल्ती भेटिन्न ।
चलचित्रमा जादु देखाउन भिएिफएक्सको गज्जवको प्रयोग छ ।

 

अभिनय
चलचित्रको राम्रो पक्ष कलाकारहरुको कलात्मक अभिनय शैली पनि हो । चलचित्रमा पात्रहरुको भूमिका निभाउन कलाकारहरु सक्षम देखिन्छन् ।
चलचित्रका पात्रहरु बर्षा( निकिता आचार्य), इसा(समापिका गौत्तम) जिना (सुरक्षा पन्त), अनिका (हेना नगरकोटी), योगिना (मोनिका थापा) नुमा (सदिक्षा राई)को जीवन्त अभिनयले चलचित्रलाई सुन्दर बनाउन सघाएको छ । रंगमञ्चबाट आएका कलाकारहरुका कारण पनि हुन सक्छ उनीहरुको अभिनय एक से एक छ । सबैले आफ्नो अभिनयभित्र नयाँ नयाँ चरित्र श्रृजना भरेर प्रस्तुत परेका छन् ।

रोहण पात्रलाई कलाकार किरण श्रेष्ठले राम्रोसँग निभाएका छन् । उनको अभिनयमा पनि नयाँपन देखिन्छ । भोलाराज सापकोटा मास्टरजस्तै देखिएका छन् । सरिता गिरीले कडा मिजासकी शिक्षिकाको चरित्र जस्ताको त्यस्तै पर्दामा उतारेकी छिन् । मिथिला शर्मा प्रिन्सिपलको जोखिमपूर्ण भूमिका सहज ढंगले देखाएकी छिन् ।

अन्तमा,
चलचित्र मनोरञ्जनका लागि हेरिन्छ । ‘खेल’ हेरुञ्जेल दर्शकहरु छुट्टै संसारमा पुग्छन् । खेलले नौलो अनुभूति दिन्छ ।
तर चलचित्रमा सस्पेन्स र थ्रिल अनुभव गराउन र दर्शकलाई मनोरञ्जन दिने नाममा चलचित्रमा रनभुल्ल पार्ने अनेकौ हतकण्डा प्रयोग गरेका छन् । दुई तीन पल्ट हेर्दा पनि चलचित्रको पात्रहरुको मनोदशा बुझिन्न । कथा बुझिन्न । चलचित्र हेरिरहँदा प्रश्नै प्रश्न उव्जिन्छ । दिमाग खान्छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।