मुगु
रारा ताल पुगेर विषयविज्ञहरुले चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा बहस गरेका छन् ।
दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गतको ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’ ऐतिहासिक रारा तालको मुहानमै बहस भएको हो । समिटमा चलचित्र, पर्यटन र जलवायु परिवर्तनका विषयमा विविध बहस र छलफलहरू भए ।
बहसमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बिसी, वरिष्ठ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, गुराँस गाउँपालिकाका अध्यक्ष टोप नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीलगायतको सहभागिता भए ।
“घुमौँ कर्णाली, हेरौँ कर्णाली“ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा चलचित्र, पर्यटन र जलवायु विषयमा स्थानीय संस्कृति, भाषा, पर्यटन पूर्वाधार र अन्तर्राष्ट्रिय बजारमा चलचित्रमार्फत कर्णालीको प्रतिनिधित्व गर्ने विषयमा छलफल भयो ।
यस महोत्सवका सद्भावना दूतसमेत रहेका चलचित्र अभिनेता प्रदीप खड्काले रारा क्षेत्र मात्र नभई विश्वभर चलचित्र छायाङ्कनका लागि उत्कृष्ट स्टुडियोको रूपमा रारा ताल र वरपरका प्राकृतिक सम्भावनाहरूलाई उजागर गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेलेको बताए । ‘प्रेम गीत २’ चलचित्रको छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णाली क्षेत्र विशेष गरी राराको अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धनमा चलचित्रको प्रभावको चर्चा गरे । चलचित्र पर्यटन प्रवद्र्धन र भाषा, रीतिरिवाज संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने शक्तिशाली माध्यम भएको उनको धारणा थियो ।
उनले आफ्नो नयाँ चलचित्र ‘छब्बीस करोड’ पनि चाँडै कर्णालीमा छायाङ्कन गर्ने योजना रहेको जानकारी दिए ।
महोत्सवको सह आयोजक रहेको संस्था चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डिसीले कर्णाली चलचित्र महोत्सवले विभिन्न स्थानमा आयोजना गरेका कार्यक्रमहरूले चलचित्र क्षेत्रका नयाँ सम्भावनाहरूको खोजी गरेको र गाउँ–गाउँसम्म चलचित्र प्रवद्र्धन गर्न खेलेको भूमिकाको प्रशंसा गरे । चलचित्र विकास बोर्डले बलिउडका केही प्रभावशाली व्यक्तिहरूलाई बोलाई रारामा समेत चलचित्रका गतिविधिहरू गर्ने योजना रहेको जानकारी दिए । रारा सहित कर्णालीका विभिन्न भागहरू खुल्ला स्टुडियोको रूपमा रहेको बताउँदै अध्यक्ष डिसीले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी चलचित्र विकास बोर्ड अगाडि बढिरहेको बताए ।
निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाले पहिलो पटक राराको सौन्दर्य अनुभूत गर्न पाएको बताउँदै भविष्यमा कर्णालीका कथालाई पर्दामा उतार्ने प्रतिबद्धता जनाइन् । रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु भामले ‘प्रेमगीत २’ पछि राराको प्रवद्र्धन बढेको भन्दै यस्ता गतिविधिलाई नीति बनाएर निरन्तरता दिने प्रतिबद्धता जनाए ।
नेपाल पर्यटन बोर्डका अधिकृत गोपाल भण्डारीले पर्यटन र चलचित्र प्रवद्र्धनलाई हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, सोरु गाउँपालिकाका उपाध्यक्ष केशर जङ्ग शाही, वडाध्यक्षहरू लगायत स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।








प्रतिक्रिया