काठमाडौं
कुनै समय ५० लाखे अभिनेताको ट्याग भिरेका प्रदीप खड्काको बेग्लै हाइप थियो । उनको अनुहार हेर्नका लागि भए पनि युवतीहरुको जमात हलमा पुग्थ्यो । दर्शकले उनको सिनेमा ‘प्रेम गीत ३’लाई खुबै मन पराए । एकपछि अर्को चलचित्रमा व्यस्त हुन थालेपछि प्रदीपले आफ्नो अभिनयको दाम पनि बढाए ।
तर चलचित्रको सफलता र असफलता दुवै चाखेका प्रदीपको अघिल्ला वर्ष ग्रह दशा नै बिग्रियो । अवस्था हेर्दा उनी करिअरको ओरालो यात्रातर्फ अघि बढेकोे देखिन्छ ।
उनले आस गरेको चलचित्र ‘एक्टर टेक : वान’मा लफडा पर्यो । अर्को एक्टरसँग नाम जुधेको भन्दै काठमाडौं जिल्ला अदालतमा उजुरी परेपछि प्रदर्शन मिति सर्यो । निर्माण पक्षले जुन हाइपमा चलचित्रको प्रचारप्रसार गरेको थियो प्रदीपले हलमा चल्ने बेलामा ठक्कर ब्यहोर्नुपर्यो । नेपालमा पहिलो पटक राम्रो एक्सन चलचित्रमा अभिनय गर्दा हुन्छ कि भनेर गत चैत २९ गते प्रदर्शनमा आएको चलचित्र ‘पिताम्बर’बाट पनि उनलाई ठुलो भरोसा थियो।
तर सोचे अनुसारको चलचित्रले अभिनेता प्रदिपलाई उकास्न सकेन । अझ भनौँ उनको चर्चा जति चुलिनुपर्ने हो त्यति बन्न सकेन । चार वर्षअघि जति उनको हाइप थियो त्यो हाइप बिस्तारै ओरालो लाग्यो ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्लो’मा उनको भरोसा अडिएको छ । निर्मण पक्षले यो चलचित्रको प्रदर्शन आगामी तिहारमा राख्ने नि भन्ने सोचमा छ । यो समयमा अनमोलको ‘जेरी अन टप’ आउने सम्भावना छ । ‘जेरी अन टप’सँग प्रदिपको चलचित्र ‘एक्लो’ राख्ने कि भाग्ने भन्नेमा निर्माण पक्ष दोहोरमा छ ।
नेपाली चलचित्र क्षेत्रमा चर्चामा रहेका अनमोल र केदार घिमिरेलगायतको चलचित्र । ‘जेरी अन टप’सँग ‘एक्लो’ भिड्ने सम्भावना पनि देखिन्छ । ठूलो लगानी र स्टार कलाकारहरुको चलचित्र एक आपसमा भिडेर सक्किने रोग नेपाली चलचित्रमा व्याप्त छ । चलचित्र ‘एक्लो’बाट उनी एक्लिदै जाने खतरा पनि छ ।
चलचित्र प्रदीपको ‘एक्लो’ ब्लकबस्टर बनोस् शुभकामना








प्रतिक्रिया