ललितखबर
राजधानीमा चलचित्र ‘पिताम्बर’ ५१ दिनसम्म निरन्तर प्रर्दशनको खुशीयालीमा धेरै कलाकार गयल भएका छन् ।
निर्माण पक्षले राखेको खुशीयाली कार्यक्रममा सिमित कलाकारहरु मात्रै देखिए । स्टार कलाकारहरुको भीडभाड रहेको पिताम्बरको सफलताको कार्यक्रममा अनुपविक्रम शाही,प्रमोद अग्रहरी, कामेश्वर चौरेसिया, दिव्यदेव पन्त, टिका पहाडी, गौरव विष्ट र सुरविर पण्डित सहभागी थिए । कार्यक्रममा सौगात मल्ल केही समय बसेर ‘व्यस्त छु’ भन्दै बाहिरिएका थिए ।
कार्यक्रममा अभिनेता प्रदिप खड्का, दयाहाङ राई, आर्यन सिग्देल,सुरक्षा पन्त,गौरी मल्ल,रविन्द्र झा,सुपुष्पा भट्ट, दिव्या रायमाझीलगायत चलचित्रका मुख्य कलाकारहरु नै सहभागी भएनन् । चलचित्रको सफलतामा मुख्य कलाकारहरु नै सहभागी नहुँदा खल्लो देखिएको पत्रकारहरुले प्रतिकृया दिएका थिए ।
अपरान्ह ढिलो गरेर सुरु भएको कार्यक्रममा केही कलाकार व्यस्त भएकाले उपस्थित हुन नसकेको भन्दै अन्तमा नाम लिइएको थियो ।
काठमाडौंको नयाँ सडकस्थित एक सिनेमा घरमा आयोजित कार्यक्रममा सिमित पत्रकारहरु सहभागी थिए । निर्माण पक्षले ठूलो केक काटेर खुशीयाली मनाएको थियो । चलचित्र सफल बनाउन योगदान दिने कलाकार, प्राविधिक र प्रचारमा सघाउने पत्रकारहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
चलचित्र सफल बन्नुमा कलाकार,प्राविधिक र पत्रकारहरुको योगदान रहेको भन्दै निर्देशक कृषा चौलागाईले धन्यवाद दिइन् । निर्माता विशाल चौलागाईले निर्माणको चरणमा अरुका चलचित्रमा सबैको सहयोग रहने अपेक्षा व्यक्त गरे ।
देशभरका ४ वटा हलहरुमा ५५ दिनसम्म चलचित्र निरन्तर प्रर्दशन भइरहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
‘पिताम्बर २’ निर्माणको घोषणा
निर्माण पक्षले चलचित्र पिताम्बर २ निर्माणको घोषणा गरेको छ । कृषा चौलागाईको निर्देशन रहने सो चलचित्रमा विशाल चौलागाई निर्माता रहेका छन् भने पुरुषोत्तम प्रधान सहनिर्माता र सुमन गौत्तम कार्यकारी निर्माता निर्माता रहने सार्वजनिक गरिएको छ । निर्देशक चौलागाईका अनुसार चलचित्रको कथा बन्ने क्रममा रहेकाले तीन महिनाभित्र थप जानकारी आउने बताइन् ।








प्रतिक्रिया