काठमाडौं । शोभित बस्नेतको निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’ को टिजर बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा अष्ट्रेलियन पीआर पाउनका लागि नेपाली युवाले भोग्नुपरेको संघर्ष, विदेशमा व्याप्त पीडा, र परिवारले राख्ने अपेक्षाको द्वन्द्व चित्रण गरिएको छ।
टिजरमा प्रेम, बदला, धोका र विछोडको मिश्रण प्रस्तुत गरिएको छ भने अन्तिम दृश्य मर्मस्पर्शी रहेको दर्शकहरूले प्रतिक्रिया जनाएका छन्। निर्देशक बस्नेतले फिल्ममार्फत विदेश बस्ने नेपालीहरूको यथार्थ जीवन, संघर्ष र पारिवारिक दबाब उजागर गर्न खोजिएको बताए।
बलियो स्टारकास्ट र अनुभवी टिम
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा नीर शाह, गौरी मल्ल, दिक्पाल कार्की, रविन्द्र खड्का, उत्तम केसी, आर.ए. सुरज पौडेल लगायत चर्चित कलाकारहरूको अभिनय रहेको छ। फिल्मको निर्माण प्रदीप दाहाल र लक्ष्मण सापकोटाले गरेका हुन् भने रञ्जित शाह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेका छन्।
फिल्मको सिनेमाटोग्राफी सौरभ सायमी, डीओपी सौरभ लामा, संगीत मानस राज र भीम बिसी, पृष्ठभूमि संगीत प्रमोद परियार, रंग संयोजन राजेन्द्र मोक्तान, नृत्य निर्देशन रामजी लामिछाने, र पटकथा लेखन गणेश बुढाथोकीले गरेका छन्।
अष्ट्रेलिया र नेपालमा छायांकन
फिल्म नेपाल र अष्ट्रेलियाका विभिन्न लोकेसनमा छायांकन गरिएको हो। निर्देशक बस्नेतले कार्यक्रममा बोल्दै भने, “हामीले प्रायः विदेशमा बसेका नेपालीले सामाजिक सञ्जालमा पोस्ट गरेको रंगीन फोटो मात्रै देख्छौं, तर तिनको वास्तविक पीडा र चुनौतीबारे सोच्दैनौं। यो फिल्मले त्यही यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ।”
फिल्मको प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन।








प्रतिक्रिया