५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता दयाहाङ राईको शीर्ष भूमिकामा फिल्म ‘बुकी फूल’ निर्माण हुने



काठमाडौं । अभिनेता दयाहाङ राईको शीर्ष भूमिकामा फिल्म ‘बुकी फूल’ निर्माण हुने भएको छ। अभियान फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मको घोषणा शुक्रबार विज्ञप्ति जारी गर्दै गरिएको हो। फिल्मको लेखन बेदबहादुर गुरुङ र निर्देशन ओमप्रकाश गुरुङले गर्नेछन्।

पृथक प्रेमकथामा आधारित फिल्ममा संस्कृति गुरुङले दयाहाङसँग अनस्क्रिन रोमान्स गर्दै डेब्यु गर्नेछिन्। अन्य कलाकारमा राजेश गुरुङ, प्रेम पुन, लालशोभा गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङ अनुबन्धित छन्।

फिल्मको छायांकन गण्डकी प्रदेशको कास्कीस्थित पर्यटकीय गाउँ सिक्लेस र कोरी क्षेत्रमा भदौदेखि माघसम्म हुनेछ। रिलिज मिति २०८३ साल बैशाख तोकिएको छ।

कथावस्तु माघे संक्रान्तिमा सिक्लेस गाउँको ‘मौदु क्यू फुइ’ चोखो पानीमा स्नान, दिउँसो छेलो फाल्ने प्रतियोगिता तथा भाद्र पूर्णिमामा दूधपोखरीमा नुहाउने ऐतिहासिक परम्परा र आस्थामा आधारित सामाजिक पृष्ठभूमिमा रहेको पटकथा लेखक बेद गुरुङले जनाए।

गण्डकी प्रदेश सभाका सदस्य तथा फिल्म एसोसिएसन (जिफान)का पूर्वअध्यक्ष बेदबहादुर गुरुङ झण्डै १० वर्षपछि फिल्ममा फर्किएका हुन्। उनले ‘बुकी फूल’ नेपाली दर्शकलाई मौलिक रैथाने स्वादका साथ स्वस्थ मनोरञ्जन प्रदान गर्ने प्रयास हुने बताउँदै यसले सिक्लेसको इतिहास, संस्कृति र पर्यटन प्रवर्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २४ श्रावण २०८२, शुक्रबार  ३ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।