नेपाली कला क्षेत्रमा २०४७ सालदेखि सक्रिय छन्, ऋषि लामिछाने । उनले थुप्रै हिट चलचित्र निर्देशन गरे । ‘किस्मत २’, ‘हवल्दार सुन्तली’, ‘हाम्रो माया जुनीजुनीलाई’ ‘श्रीमान् श्रीमती’ र ‘कहिले मिलन कहिले विछोड’ लगायतका चलचित्रका निर्देशक लामिछानेका ‘परिचय’लगायत थुप्रै सफल टेलिचलचित्र छन् ।
भर्खरै निर्देशक लामिछानेले निर्देशन गरेको चलचित्र ‘माग्नेराजा’ प्रर्दशनको तयारीमा छ । निर्देशक छामिछानेका चलचित्र करिअरमा धेरै भावुक बनाउने चलचित्र निर्देशन गरेका थिए । प्रर्दशन्मुख चलचित्र ‘माग्नेराजा’मा उनले हास्यविधामा काम गरेका छन् । उनै निर्देशक लामिछानेसँग ’माग्नेराजा‘ चलचित्र प्रर्दशनको सन्र्दभमा ललितखबरका संवाददाताले गरेको कुराकानीको सम्पादित अंश :
ऋषि लामिछाने
चलचित्र निर्देशक
चलचित्रमा कथा नै हिरो बनाएर चलचित्र निर्माण गर्ने चलन सुरु भएको छ ? हजुरले निर्देशन गरेको चलचित्र माग्नेराजाको हिरो को हो ?
चलचित्र माग्नेराजामा पहिलो कुरा कथा नै हिरो रहेको छ । कथाको पात्रलाई अघि बढाउन कलाकार केदार घिमिरे हिरोको रुपमा रहेका छन् ।
माग्नेराजामा कथा र कलाकार दुबै हिरोको रुपमा स्थापित छन् ।
नेपाली चलचित्रमा अब्बल कलाकारहरु छन् तर निर्देशकहरु कमजोर भएकै कारण चलचित्र क्षेत्रले फड्को मार्न सकेन भन्ने चर्चा सुनिन्छ नि ?
नेपाली कलाकार र निर्देशक दुबै अब्बल छन् । सानो बजार भएकाले अनुपातमा व्यापार हुन सकेको छैन । चलचित्र आफैमा व्यापार पनि हो । कुनै पनि निर्माताले चलचित्र बनाएर घाटा खान चाहदैन ।
राम्रो बजार पाउने हो भने नेपाली चलचित्र अझैं राम्रा चलचित्र बन्छन् । यहाँ अब्बल कलाकारसँगै राम्रो चलचित्र बनाउन सक्ने निर्देशक छन् । हामी कुनै पनि हिसावले कमजोर छैनौं । संसारभर बन्ने चलचित्रभन्दा हामी कुनै कुरामा कमजोर छैनौं ।
नेपाली चलचित्रमार्फत कस्ता कस्था कथा भन्नु जरुरी छ ?
निर्देशकलाई मन लाग्ने कथा भन्ने हो । निर्देशकले कल्पना, सपनालाई कला भरेर चलचित्र बनाउने हो । हामीसँगै कथै कथा छन् । तिनीहरुलाई मिठो बनाएर कलात्मक ढंगले बनाउन जरुरी छ ।
नेपालमा मिठो कथा मिसाएर देखाउन मिल्ने अनगिन्ती कलासंस्कृती, भाषा, भेषभुसा,ऐतिहासिक सम्पदा,हिमाल पहाड तराई छन् ।
चलचित्र क्षेत्रमा कस्ता चुनौती देख्नु भएको छ ?
मैले चलचित्र क्षेत्रमा अनगिन्ती सम्भावना देखेको छु । पछिल्लो समय नेपाली चलचित्रहरु विश्वबजारका बक्सअफिस प्रवेश गरेर प्रर्दशन हुन थालेका छन् । विदेशीहरुले पनि नेपाली चलचित्र मन पराउन थालेका छन् । नेपाली चलचित्रहरु अब्बल सावित हुँदै पुरस्कृत भएका छन् । विश्वप्रसिद्ध ओस्कार अवार्डमा प्रतिश्पर्धा गर्ने चलचित्र बनिरहेका छन् ।

चुनौती त सबै क्षेत्रमा हुन्छन् । हामीले चुनौतीभित्र सम्भावना देख्ने हो । मैले त नेपाली चलचित्रको सुनौलो भविश्य देखेको छु ।
राम्रो कलाकारहरु देखाएर चलचित्र क्षेत्रमा राम्रा निर्देशक भएनन् भन्ने चर्चा सुनिन्छ । के निर्देशकहरु कमजोर छन् र ?
नेपालमा कलाकारहरु सबै अब्बल छन् । निर्माता र निर्देशकहरु पनि अव्वल छन् । समय र परिस्थिती चाही फेरिएको छ । मैले चाही कोही कमजोर देखेको छैन ।
भारतमा पनि बर्षमा १० हजार बटा चलचित्र बन्छन् । तर त्यही १ सय हाराहारीमा चलचित्रले राम्रो व्यापार गर्छन । नेपालमा १ सय चलचित्र मध्ये आठ दश चलचित्र राम्रा बनेको पाइन्छ । तुलनात्मक हिसावमा म हाम्रो चलचित्र क्षेत्र पो राम्रो भएको देख्छु ।
नेपाली चलचित्रहरुमा कथा र विषयवस्तु चोरिएका र प्रभावित भएका हुन्छन् । त्यसैले चलचित्रहरु राम्रो बनेका छैनन् भन्ने आरोप छ नि ?
चोरिएका कथामा कसले चलचित्र बनायो तपाईले भन्नु प¥यो । कुनै चलचित्र चोरेर बनाइएको छ भने उदाहरण दिएर भन्नु पर्छ । नत्र यसरी सबैलाई एउटै ठाँउमा राखेर आरोप लगाउनु भएन ।
चोर्नु एउटा कुरा हो । प्रभावित भएर चलचित्र बनाउनु अर्को कुरा हो । हलिउडमै आफ्नै चलचित्रको पुनः चलचित्र बनाएको पाइन्छ । हुबहु कपि गरेर चलचित्र बनाउन पाइदैन । त्यो बिचारलाई सापटी लिएर निर्देशकले राम्रो विषयबस्तुबाट प्रभावित भएर चलचित्र बनाउन पाउछ ।
विश्व बजारको चलचित्रमा नेपाली चलचित्र कहाँनिर पाउनु हुन्छ ?
नेपाली चलचित्र विश्वबजारमा पहिचान खोज्न कसरत गरिरहेको छ । केही चलचित्रकर्मीहरु उत्तिकै मेहनत गरिरहनु भएको छ । केही चलचित्रहरु सफल भएका पनि छन् । सुरुआत राम्रो छ ।
संसारभरका दर्शकहरुलाई देखाउन तपाई चलचित्र बनाउन चाहानुहुन्छ ? कहिले बनाउनु हुन्छ ?
हरेक निर्देशकहरुलाई आफेनो चलचित्र संसारभरका मान्छेले हेरुन् भन्ने चाहन्छ । म पनि चाहन्छु । यसका लागि समय र परिस्थिती मिल्नुपर्छ । हेरौं ।
निर्देशकीय दृष्टिकोणबाट कुनै चलचित्र बनाउन कठीन भयो कि ?
कठीन लाग्ने चलचित्र म सुरुमै बनाउदिन । अहिलेसम्म सबै चलचित्र बनाउन मलाई सजिलो भएको छ । ज्यादै कठीन काम अब पनि गर्दिन होला ।
तपाई सानो पर्दाको चलचित्रका लागि पनि उत्तिकै सफल निर्देशकको रुपमा स्थापित हुनुहुन्छ । तपाईलाई सानो पर्दा र ठूलो पर्दामा कुन सजिलो र रमाइलो लाग्छ ?
निर्देशकको भिजन कलात्मक क्षमता र विचार प्रभाह गर्न पर्दाले फरक पार्दैन । एउटा निर्देशकलाई दुबै बराबरी हुन्छ । फरक यत्ति हो सानो पर्दाको चलचित्र घरमै बसेर हेरिन्छ । पैसा तिर्नु पर्दैन । ठूलो पर्दाको चलचित्र हलमा पैसा तिर्नुपर्छ ।
एउटा निर्देशकको कामलाई सानो वा ठूलो पर्दाले फरक पर्दैन । म विभेद गर्न पनि चाहन्न ।
नेपाली चलचित्र क्षेत्रमा धेरै निर्माता आउछन् । अनि हराउछन् । धेरै निर्देशकहरुले चलचित्र क्षेत्रमा निर्माताहरुलाई स्थापित गर्न सकेको पाइन्न । किन होला ?
मैले चलचित्र क्षेत्रमा ल्याएरका धेरै निर्माताहरु स्थापित छन् । यो प्रश्न जसले निर्माता ल्याएर टिकाउन सकेनन् उनीहरुलाई गर्दा राम्रो हुन्छ । मेलै लगानी गर्न लगाएका निर्माताहरु प्रदिपकुमार उदय, मुनाल घिमिरे र छवि ओेझालगायत चलचित्र क्षेत्रमा निरन्तर चलचित्रमा सक्रिय छन् । व्यावसायिक निर्देशक खोजेर काम गर्ने निर्माताहरु स्थापित भएकै देख्छु ।

चलचित्र निर्माण गर्ने निर्माताहरुले किन चलचित्र बनाउने ?, को निर्देशकसँग चलचित्र बनाउने ? र कस्तो चलचित्र बनाउने ? भन्ने बारेमा सोच्नु राम्रो हुन्छ ।
नेपाली चलचित्र क्षेत्रका गतिविधिहरु नकारात्मक विषयबस्तुलाई प्राथमिकता दिएर मनोबल गिह्राउने र सामाजिक सञ्जालमार्फत डलर आर्जन गर्न पत्रकारिताको मूल्यमान्यताभन्दा बहिर गएर कृयाकलाप गरिरहेको देखिन्छ । यसले चलचित्र क्षेत्रलाई असर परिरहेको छ ?
नेपालीहरु पनि नकारात्मक कुरामा खुशी हुन थालेका छौं । अरुको नराम्रो हुँदा हामी खुशी हुन्छौं । ताली बजाउछौं । आफूलाई पर्दा दुःखी हुन्छौं । यदि हामी अरुको दुःखमा खुशी भइरहेका छौं भने हामी गलत बाटोमा छौं । यो नबुझेसम्म हाम्रो उन्नती र प्रगती सम्भव छैन । यो सबै बन्द हुनुपर्छ ।
नेपाली चलचित्र क्षेत्र मात्रै होइन अहिले संसारभरका मान्छेहरु नकारात्मक कुराको पछाडि दौडेको देख्छु ।
उन्नत प्रविधि प्रयोग नभएको कारण नेपाली चलचित्रहरु कमजोर भएको तर्क सुनिन्छ । नेपाली चलचित्रमा कस्तो प्रविधिको प्रयोग भइरहेको अनुभव गर्नु भएको छ ?
अस्तीभन्दा हिजो राम्रो प्रविधिको प्रयोग भएको नेपाली चलचित्रमा आज झन् राम्रो प्रविधिको प्रयोग भएको छ ।
नेपाली चलचित्रको भविश्य कस्तो देख्नु भएको छ ?
नेपाली चलचित्रको भविश्य मैले असाध्यै सुन्दर देखेको छु । आज नेपाली निर्देशकहरु संसारभरका दर्शकमाझ चलचित्र पु¥याउन लाग्नु भएको छ । धेरै देशका बक्सअफिसमा नेपाली चलचित्रले प्रवेश गरेका छने । हिजोसम्म नेपाली चलचित्र भनेपछि नाक खुम्च्याउने दर्शकहरु आज चलचित्रहरु हेरेर गर्व गर्छन् । यो अत्यन्त खुशीको कुरा हो ।
पछिल्लो पुस्ता नेपालीहरु विदेश पलायन हुने क्रम बढेको देखिन्छ । यसले नेपाली चलचित्रको भविश्यमाथि प्रश्न उठ्दैन र?
यो राजनीतिक परिस्थितीका कारण जन्मेको समस्या हो । देश पहिलो कुरा हो । देशबाहिर गएका नेपाल फर्केर यही भविश्य देख्नुपर्छ ।
तर नेपाली चलचित्र पनि नेपाली भएका देशहरुमा गएर प्रर्दशन भइरहेको छ । बजार घटेको देखिन्न ।
प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘माग्नेराजा’ दर्शकले किन हेर्नु जरुरी छ जस्तो लाग्छ ?
चलचित्र ‘माग्नेराजा’ नेपालीहरुले आफूलाई बुझ्नका लागि हेर्न पर्छ भन्ने लाग्छ । एउटा सडकको मान्छेले राजा बन्ने सपना पालेको हुन्छ । भूई मान्छेको मिठो सपना पुरा भएको खुशीयाली अनुभव गर्न चलचित्र माग्नेराजा हेर्न जरुरी छ । रमाउन र खुशी हुन माग्नेराजा हेर्नु जरुरी छ ।
समय र संवादका लागि ललितखबरको तर्फबाट धेरै धेरै धन्यवाद ।
तपाईलाई पनि धेरै धन्यवाद ।








प्रतिक्रिया