१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र जनै हराएको मान्छे हेर्न हलमा दर्शकको भीड



 

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा आज हलमा दर्शकको चाप सुखद देखिएको छ । तीजको बिदा परेकाले हलमा दर्शकको चाप राम्रो देखिएको हो ।

निर्माणपक्षले आज देशभरका हलमा दर्शकको बाक्लो उपस्थिति रहेको जनाएको छ । बिहानैबाट हलमा दर्शकको बाक्लो चाप देखिएको निर्माणपक्षको दाबी छ ।

राजधानी काठमाडौंदेखि विराटनगर, पोखरा, बुटवल, चितवन, नेपालगञ्जलगायतका सहरका हलमा दर्शकहरूको बाक्लो उपस्थिति देखिएको निर्माणपक्षले जनाएको छ । परिवारसहित हलमा दर्शक आइरहेको निर्देशक हिमाल न्यौपानेले जानकारी दिए ।

“परिवारसहित दर्शक हलमा बिहानैदेखि आइरहनु भएको छ । अपराह्नपछि दर्शकको संख्या थप बढ्न देखिएको छ,” उनले बताए ।

शुक्रबारबाट रिलिज भएको ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’लाई हलमा दर्शकको उत्कृष्ट वर्ड अफ माउथ मिलेको छ ।

चलचित्रले प्रर्दशन भएको पहिलो दिनदेखि नै उत्कृष्ट वर्ड अफ माउथ पाएको छ । सामाजिक सञ्जालमा दर्शकले लेखेका प्रतिक्रियाबाट फिल्मले भावनात्मक प्रभाव पारेको स्पष्ट देखिन्छ । पारिवारिक उतारचढाव देखाएको चलचित्रलाई दर्शकले आफ्नै जिन्दगीको कथासँग रिलेट गरिरहेका छन् ।

फिल्म हेरेपछि धेरैले यसलाई आफ्नै जीवनसँग जोडेको प्रतिक्रिया दिएका छन् । अधिकांश दर्शकले सिनेमाले भावुक बनाएको बताएका छन् । कतिपय दर्शक त हलमै रोइरहेका भिडियोहरू आइरहेका छन् ।

चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत हुन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरण गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ३ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।