२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘रिमै’ प्रदर्शनपूर्व पारिश्रमिक विवाद सतहमै



काठमाडौं । यही भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’ पारिश्रमिक विवादले घेरिएको छ। चलचित्रको प्रमोसनको क्रममा आयोजित पत्रकार भेटघाटमा मुख्य अभिनेता दयाहाङ राईले अझै पनि केही कलाकार र प्राविधिकको पारिश्रमिक नबुझाइएको बताएका हुन्।

पहिले सम्झौताअनुसार समयमा पारिश्रमिक नपाएपछि निर्माण टिम र कलाकारबीच विवाद उत्पन्न भएको थियो। यसै कारण दयाहाङ र पटकथा लेखक उपेन्द्र सुब्बाले चलचित्रको टिजर र पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका थिएनन्। तर, पछि चलचित्र प्रदर्शनअघि पारिश्रमिक भुक्तानी गर्ने सर्त राखिएपछि दयाहाङले ट्रेलर र गीत प्रचारमा साथ दिएका थिए।

“अहिले पनि केही प्राविधिकको पारिश्रमिक बाँकी नै छ,” दयाहाङले स्पष्ट पारे। उनले थपे, “हाम्रो ठूलो विवाद थिएन, पारिश्रमिकको विषय भोलि समस्या नहोस् भन्ने सोचमा म सचेत थिएँ। तर व्यस्तताका कारण निर्माता र मेरो बीचमा सम्पर्क टुट्यो, बजारमा आएको जस्तो ठूलो समस्या भने थिएन।”

सुटिङकै क्रममा आर्थिक समस्या परेको र त्यसकै असरले पारिश्रमिक विवाद सतहमा आएको उनले जनाए। निर्माता वीरबल घलेले भने चलचित्र प्रदर्शन अघि सबै बक्यौता रकम क्लियर गर्न लागिपरेको बताए।

खिलबहादुर गुरुङ निर्देशित ‘रिमै’मा दयाहाङसँगै रिश्मा गुरुङ, अर्पन थापा, गौमाया गुरुङ लगायत कलाकारको अभिनय रहेको छ। अहिले दयाहाङ प्रचार–प्रसारमा सक्रिय देखिएका छन्।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ३ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।