काठमाडौं । दशैंको अवसर पारेर रिलिज हुन लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ। हाँसो, आँसु र करुणासहितका दृश्यहरूले भरिएको टिजरले नेपाली दर्शकलाई टेलिभिजन सिरियलमार्फत चर्चित बनेको हरिबहादुर पात्रको याद ताजगी बनाएको छ। सिरियलमा चोर र ठगको भूमिकामा देखिने हरिबहादुर यस पटक भने केवल हास्यमै सीमित नभई भावुक र कारुणिक पात्रका रूपमा प्रस्तुत भएको देखिन्छ।
निर्देशक दीपेन्द्र के. खनालले हरिवंश आचार्यद्वारा निभाइएको हरिबहादुर पात्रलाई नयाँ धारमा प्रस्तुत गर्ने प्रयास गरेका छन्। असोज १३ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा प्रियंका कार्की प्रहरीको भूमिकामा देखिएकी छन् भने स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले र कमलमणी नेपाललगायतका चर्चित कलाकारहरूको अभिनय समेटिएको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। चलचित्रको छायांकन कृष्ण बहादुर थापा, सम्पादन नकुल खड्का र संगीतमा वसन्त सापकोटा, दीपक शर्मा तथा प्रकाश सपुतको योगदान रहेको छ। स्वरमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको आवाज समावेश गरिएको छ।
निर्माण टिमले ‘हरिबहादुरको जुत्ता’ले दशैंमा दर्शकलाई हाँसो, रमाइलो मात्र नभई भावनात्मक यात्रा पनि दिने विश्वास व्यक्त गरेको छ।








प्रतिक्रिया