काठमाडौं
नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार हुन्, तक्मेबुढा अर्थात् विल्सन विक्रम राई । उनले डेव्यु निर्देशन गरेको चलचित्र ‘मैझारो’को टिजर सार्वजनिक भएको छ ।
धेरै जसो दर्शकले तक्मेबुढाको निर्देशनमा बन्ने चलचित्र कमेडी शैलीको चलचित्र निर्माण गर्लान् भन्ने लागेको हुनुपर्छ।
तर उनले सोचेको भन्दा विलकुलै फरक तरिकाले मौलिक प्रेमकथामा सिनेमा निर्माण गरेका छन् भन्दा फरक नपर्ला ।
आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा मुख्य कलाकार धिरज मगर,मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । इलामको दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगर छन् । चिया बगानमा चिया टिप्न ढोको बोकेकी मिरुना मगरलाई डोको बोकेको देख्न सकिन्छ। सायद उनी चिया बगानमा चिया पत्ती टिप्ने काम गरेकी हुन कि भन्ने बुझिन्छ। धिरज र मिरुनाको प्रेम टिजरमा देख्न सकिन्छ। तर कुनै बाध्यताले धिरज दिया पुनसँग नजिकिएका छन्।
किनभने सार्वजनिक भएको टिजरमा किराती मौलिक प्रेमकथामा भावनात्मक सम्बन्धहरु देखाइएको छ। जसले गर्दा विल्सन विक्रम राईलाई यहि चलचित्रले नै निर्देशकको एउटा राम्रो छाप छोड्छ भन्ने कुरामा दुविधा नहोला। किनभने उनले निर्माण गरेको यो चलचित्रमा नेपाली माटोको कथा भन्न उनी निकै सिपालु देखिएका छन्। उनको काम टिजरसम्म अब्बल देखिन्छि।
सोमबार बडादसैंको घटस्थापनाको अवसर पारेर सार्वजनिक टिजर चलचित्रको १ मिनेट ५८ सेकेण्डको रहेको छ ।
त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र ‘मैझारो’लाई निर्देशक राईकै कथामा निर्माण भएको हो। चलचित्रमा धिरज,मिरुना र दियाका साथमा दयाहाङ राई,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको मीठो स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेका चलचित्रको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।








प्रतिक्रिया