१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


तीन चलचित्रको प्रतिस्पर्धाः बलिदान अगाडि, हरिबहादुरको जुत्ता नजिकै, माइतीघर आठ दिनमा २ करोड पार



काठमाडौं । फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ को पछिल्लो बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डले बुधबार राति ११:५५ बजेसम्मको आठ दिनको ग्रस कलेक्सन सार्वजनिक गरेको हो।

तीनवटै फिल्ममध्ये अभिनेता समिर भट्ट अभिनित ‘बलिदान’ ले देशव्यापी ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ ग्रस कलेक्सन गर्दै अग्रस्थान कायम गरेको छ।

अभिनेता हरिवंश आचार्य मुख्य भूमिकामा रहेको ‘हरिबहादुरको जुत्ता’ ले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कमाउँदै दोस्रो स्थानमा छ। यी दुई चलचित्रबीच करिब ५० लाख रुपैयाँको अन्तर रहेको देखिन्छ।

त्यस्तै, केदार प्रसाद घिमिरे (माग्ने बुढा) अभिनित ‘माइतीघर’ ले आठौं दिनसम्ममा २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

हालसम्मको कमाइमा ‘बलिदान’ अघि भए पनि यसको उत्पादन लागत उच्च भएकाले लगानी उठाउन अझै चुनौती रहेको छ। करिब ६ करोड रुपैयाँमा बनेको यो चलचित्रले लगानी सुरक्षित गर्न कम्तीमा १४ करोड ग्रस कलेक्सन गर्नुपर्ने अनुमान छ।

ओभरसिज र डिजिटल अधिकार उच्च मूल्यमा बिक्री भएमा मात्रै निर्माताले लगानी सुरक्षित गर्न सक्ने देखिन्छ। अन्यथा, ठूलो प्रचार–प्रसारका बाबजुद पनि ‘बलिदान’ ले अपेक्षित नतिजा दिन नसक्ने सम्भावना बढ्दै गएको छ।

अरू दुई चलचित्र ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ ले भने तुलनात्मक रूपमा कम बजेटमा बनेका कारण अबको प्रदर्शनले लगानी सुरक्षित गर्ने सम्भावना देखिएको छ।

 

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।