२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘हर्ष’को प्रिमियर : उत्साहजनक प्रतिक्रिया



ललितपुर । ललितपुरस्थित लविम मलको क्यूएफएक्स हलमा बुधबार नेपाली फिल्म ‘हर्ष’ को प्रिमियर शो सम्पन्न भएको छ। भोलिदेखि प्रदर्शनमा आउने फिल्म हेर्न निर्माता, निर्देशक, कलाकार, पत्रकारसहित स्वर्गीय निर्देशक शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीको समेत उपस्थितिले कार्यक्रम जमेको थियो।

भारत, मुम्बईमा बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली फिल्मको प्रिमियरमा सहभागी भइन्। उनले ‘हर्ष’ एक उत्कृष्ट र सन्देशमूलक फिल्म बनेको बताइन्। शोको सुरुवातमै स्वर्गीय शिव रेग्मीको तस्वीर देख्दा आफू अत्यन्तै भावुक भएको पनि उनले सुनाइन्।

शिव रेग्मीकी पत्नी ज्ञानु रेग्मीले निर्देशक एकता पौडेललाई सफलताको शुभकामना दिँदै फिल्म राम्रो बनेको बताइन्। उनले भनिन्, “१२ वर्षपछि हाम्रो परिवारमा सिनेमा निर्माण गर्ने मान्छे आएको छ, एकता सफल भएको देखेर गर्व लागेको छ। आज शिवको वार्षिकीको दिन पनि भएकाले अझ भावुक छौँ।”

फिल्मका अभिनेता तथा व्यवसायी संजोग कोइरालाले ‘हर्ष’ नयाँ अनुभूति दिने पारिवारिक फिल्म भएको बताए। अभिनेत्री वर्षा राउतले प्रिमियर शोमा सकारात्मक प्रतिक्रिया पाउँदा आफू निकै उत्साहित भएको भनिन्।

मुख्य अभिनेता खगेन्द्र लामिछानेले दर्शक प्रतिक्रिया देखेर खुसी व्यक्त गरे। “मैले पहिलो पटक फरक शैलीको भूमिका गरेको थिएँ, सबैले मन पराएकोमा खुसी छु,” उनले भने।

डेव्यु निर्देशक एकता पौडेलले बाल्यकालको सपना पूर्ण भएको बताउँदै फिल्मले दर्शकसँग राम्रो सम्बन्ध बनाउन सफल हुने आशा गरिन्। “मामाको (शिव रेग्मी) झल्को दिने कृतिका रूपमा फिल्म हेर्नुभएकोमा सबैलाई धन्यवाद,” उनले भनिन्।

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डेलगायतका कलाकारको अभिनय छ। छायांकन आलोक शुक्ला, संगीत समीर–हिमाल, वसन्त सापकोटा, एलिश कार्की, सम्पादन लोकेश बज्राचार्य, र कोरियोग्राफी सुनिल क्षेत्री तथा निर्देशक पौडेलले गरेका छन्। फिल्मको कथा निर्देशक एकता पौडेलकै हो। निर्माणमा प्रशन्न पौडेल र विकास पौडेल, कार्यकारी निर्माता हिक्मत चोखाल, र प्रोडक्सन म्यानेजर इश्वर घिमिरे छन्।

फिल्म ‘हर्ष’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउनेछ।

प्रकाशित मिति : १२ मंसिर २०८२, बिहिबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।