२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्राको विषयवस्तुमा चलचित्र निर्माण हुँदै



काठमाडौं

नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्राको विषयवस्तुमा चलचित्र निर्माण हुने भएको छ ।
नेपाली चलचित्रका ब्लकबस्टर निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका हुन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरेका हुन् ।

निर्देशक पौडेलले टाइटल अनाउन्समेन्ट टिजरमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् । २६ सेकेन्डको टाइटल अनाउन्समेन्ट टिजरमा सिनेमाको टाइटल छ । सिन्दुरे जात्राको मन्त्र पढेजस्तो आवाज रहे पनि के भनेको हो त्यो भने बुझिँदैन ।

चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको रहनेछ । नुवाकोटमा मनाइने गरेको ऐतिहासिक सिन्दुरे जात्रामा आधारित चलचित्र हो वा अरु नै कथा रहनेछ यसबारे निर्देशक पौडेलले केही बताएका छैनन् ।

सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन् । चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने केही समयपछि जानकारी गराउने निर्देशक पौडेलले बताए ।

आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्र कहिले प्रर्दशन गर्ने त्यो पनि निर्देशक पौडेलले प्रष्ट पारेका छैनन् ।

केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो । प्रदर्शन भइरहेका बेला जेनजीको आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित बन्न पुगेको ‘कोशेढुङ्गा’ले समाजिक विषय, मनोभावना र निर्देशन शैलीका कारण राम्रो प्रतिक्रिया बटुलेको थियो ।

ब्लकबस्टर निर्देशक पौडेलले यो नयाँ प्रोजेक्टबाट कस्तो नयाँ सिर्जना ल्याउने हुन् भन्नेमा चासो विषय बन्ने निश्चित छ ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शुक्रबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।