२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


अत्यधिक चिसो बढेसँगै जनजिवन प्रभावित



मुस्ताङ
अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको छ ।
माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिएका छन् । वडाध्यक्ष गुरुङका अनुसार अत्यधिक चिसोका कारण सिँचाइ कुलो, घरघरका धाराको पानी, शौचालयको सेफ्टी ट्याङ्की र शाखा नदीमा हिउँ जम्ने गरेको बताएका छन् ।
वडाध्यक्ष गुरुङले भने, “धाराबाट पानी झर्न बन्द भयो, दिउँसो घाम लाग्दा कुलोको पानी तताएर खानुपर्ने अवस्था छ ।” घाम नलागेको अवस्थामा सिँचाइ कुलोको पानी ग्यास वा आगोमा तताएर खानुपर्ने बाध्यता रहेको वडाध्यक्ष गुरुङले बताए । वडाध्यक्ष गुरुङले छोसेरमा खानेपानीका तीन ट्याङकी एकसाथ चालु राखिने भए पनि चिसोका कारण खानेपानीमा समस्या आएकाले आलोपालो सञ्चालन गर्न थालिएका बताएका छन् ।
यसपालि हिउँदयामको चिसो सुरु भएसँगै कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकाँश नागरिक बेसी झरेका वडाध्यक्ष गुरुङले बताए । गतवर्ष नाका पूर्ण रूपमा सञ्चालन नहुँदा यतिबेलासम्म गाउँका शतप्रतिशत नागरिक बेसी झर्ने गरेकामा यसपालि नाकाको व्यापारले करिव तीन सय बढी नागरिक यथास्थानमा बसेका वडाध्यक्ष गुरुङको भनाई छ ।
यसैगरी माथिल्लो मुस्ताङको लामान्थाङमा पनि चिसोले नागरिक धमाधम बेसी झर्न थालेका स्थानीय पर्यटन व्वयसायी राम गुरुङले जानकारी दिए । लोमान्थाङमा पर्यटक लक्षित करिव दुई दर्जन बढी होटल सञ्चालनमा रहेकामा दुइतिहाई बढी होटल बन्द गरी बेसी झरिसकेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ । लोमान्थाङमा एक हप्ताभित्र सञ्चालनमा रहेका होटल पनि चिसोका कारण बन्द हुने बताएका छन् ।
“माथिल्लो मुस्ताङमा न्यून पर्यटक आइरहेका छन्, तर चिसोले जाडो छल्न स्थानीय बेसी झरिसके र झर्ने क्रममा छन”, पर्यटन व्यवसायी गुरुङले भने, “स्थानीयवासी र पर्यटन व्यवसायी दुई महिनाका लागि धमाधम होटल बन्द गरेर बेसी झर्दैछन्, यहाँको जनजीवन पनि निकै कष्टकर भइरहेको छ ।”
माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण सिँचाइ कुलो जमेर घाम लाग्दा सिँचाइको पानी बाहिर बग्ने भएको र यसले विपद् निम्त्याउन सक्ने भएकाले सिँचाइको पानीको मुहान बन्द गरिएको लोमान्थाङका वडाध्यक्ष ढुक्के विष्टले जानकारी दिए । माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण विकास निर्माणलगायतका काम पुरै रोकिएका वडाध्यक्ष विष्टको भनाइ छ ।
माथिल्लो मुस्ताङमा अत्यधिक चिसो बढेपनि माथिल्लो मुस्ताङका प्रहरी एकाइ बेसीमा मर्ज नहुने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कोरलानाका सञ्चालनमा रहेका र भन्सार कार्यालयसमेत सञ्चालनमा  रहेकाले सुरक्षा निकायले यथास्थान छोडेर जिल्ला मर्ज गर्न योजना नरहेको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । उनका अनुसार लोमान्थाङ गाउँपालिका अन्तर्गतका लोमान्थाङ, छोसेर र छोनुप र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत चराङ, घमी र सुर्खाङका प्रहरी एकाइहरु हिउँ समेत सोही स्थानमा रहेर सुरक्षा प्रदान गर्ने प्रहरी निरीक्षक बस्यालले बताए । “भारी हिमपात र कुनै त्यस्तो विषम अवस्था आए मात्रै हामीले त्यहाँका एकाइलाई तल झाछौँ, चिसोकै कारण भनेर त्यहाँका प्रहरी एकाइलाई तल झार्ने कुनै योजना छैन”, प्रहरी निरीक्षक बस्यालले भने ।

प्रकाशित मिति : २१ मंसिर २०८२, शनिबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।