१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सेलिब्रेटीको नक्कली आइडी बनाएर ठगी बढ्दो, सचेत रहन अपिल



काठमाडौं । पछिल्लो समय सेलिब्रेटीको नक्कली आइडी बनाएर सामाजिक सञ्जालमार्फत पैसा माग्ने र ठगी गर्ने घटनामा वृद्धि भएको छ। कलाकारहरूको नाम र तस्वीर दुरुपयोग गर्दै ह्वाट्सएप र भाइबरमार्फत पैसा मागिएको गुनासो बढ्दै गएको छ।

गत महिना संगीत क्षेत्रका चर्चित कलाकारको नक्कली आइडी प्रयोग गरी पैसा मागिएको गुनासो आएको थियो। यसपटक भने अभिनेत्रीद्वय केकी अधिकारी र स्वस्तिमा खड्काको नाम तथा तस्वीर दुरुपयोग गरी ठगी प्रयास गरिएको खुलेको छ।

अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमा पैसा मागिएको च्याटको स्क्रिनसट सार्वजनिक गर्दै यस्ता सन्देशमा नझुक्किन सबैलाई आग्रह गरेकी छन्। फेसबुकमार्फत उनले लेखेकी छन्, “मेरो नामको दुरुपयोग गर्दै ह्वाट्सएप र भाइबरमा पैसा माग्दै गरेको भेटिएकाले त्यस्ता मेसेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु।”

यस्तै, अभिनेत्री केकी अधिकारीले पनि केही दिनअघि आफ्नो नाम र तस्वीरको दुरुपयोग गर्दै ह्वाट्सएप र भाइबरमार्फत पैसा मागिएको गुनासो गरेकी थिइन्। उनले यस्तो कार्य कानुनी रूपमा दण्डनीय रहेको उल्लेख गर्दै सबैलाई सजग रहन आग्रह गरेकी छन्। केकीले भनेकी छन्, “मेरो नाम र तस्वीरको दुरुपयोग गरी पैसा मागिरहेको जानकारी प्राप्त भएको छ। यो कानुनी रूपमा दण्डनीय कार्य भएकाले सबैलाई सचेत रहन हार्दिक अनुरोध गर्दछु।”

यसअघि अभिनेत्री साम्राज्ञी शाहले पनि इन्स्टाग्राम स्टोरीमार्फत यस्तै ठगी प्रयासबारे जानकारी दिँदै सजग रहन अपिल गरेकी थिइन्। अन्य केही कलाकारले पनि सामाजिक सञ्जालमा यस्ता नक्कली आइडीमार्फत ठगी प्रयास भइरहेको भन्दै आम दर्शक तथा शुभेच्छुकलाई सतर्क रहन आग्रह गरेका छन्।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।