काठमाडौं
ब्लकबस्टर चलचित्र ’पूर्णबहादुरको सारङ्गी’का सफल जोडी विजय बराल र अञ्जना बराइली चलचित्र ‘सिन्दुरे जात्रा’मा अनुबन्ध भएका छन् ।
सरस्वती पूजाको अवसर पारेर निर्माण पक्षले उनीहरुलाई अनुबन्ध गरिएको घोषणा गरेको हो ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’को निर्देशक सरोज पौडेल रहेका छन् । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ’पूर्णबहादुरको सारङ्गी’ मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ । यो चलचित्रले नेपाली बक्स अफिसमा झण्डै ५० करोड भन्दा बढीको व्यापार गरेर इतिहास रचेको थियो ।
चलचित्र ’पूर्णबहादुर’ को केन्द्रीय भूमिका निर्वाह गरेका थिए । अञ्जनाले यस चलचित्रमा विजय बरालको श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन् ।
अन्य कलाकार विस्तारै अनुबन्ध गर्दै जाने निर्देशक पौडेलले बताएका छन् । “सिन्दुरे जात्रामा अब हामी चरित्र सुहाउँदो कलाकार अनुबन्ध गराउँदै जानेछौँ,” निर्देशक सरोजले भने, “अबको केही समयमा हामी कलाकार फाइनल गरेर अरु काम सुरु गर्नेछौँ ।”
“विजय र अञ्जना पछिल्लो पुस्तालेरुचाइएका कलाकार हुन् । तर, हामीले बजारले रुचाएका कलाकार भनेर लिएका हैनौँ,” सरोज प्रष्ट पार्छन्, “कथाले नै उहाँहरूलाई मागेपछि अनुबन्ध गराएका हौँ ।”
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको छ ।
आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्रको रिलिज मितिबारे निर्देशक पौडेलले केही जानकारी दिएका छैनन् ।








प्रतिक्रिया