२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


कलाकर्मीको नजरमा अभिनेता सुनील थापा



काठमाडौँ
कलाकर्मीहरूले ‘राते काइँला’ नामले परिचित अभिनेता सुनील थापाको निधनले समग्र कलाकारिता जगतमा अपुरणीय क्षति पुगेको बताएका छन् ।
शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएका ६८ वर्षीय थापाको दुःखद् निधन भएको थियो ।
प्रारम्भिक जाँच गरेपछि अस्पतालले कलाकार थापालाई शनिबार बिहान ७ बजेर ४४ मिनेटमा निधन भएको घोषणा गरेको थियो । नेपालीसँगै भारतीय चलचित्रमा प्रसिद्ध नाम बनेका अभिनेता थापाको निधन चलचित्रकर्मी स्तब्ध भएका छन् । पछिल्लो समय थापाले नेपाली चलचित्र ‘राम नाम सत्य’ को छायाङ्कन गरिरहेका थिए ।
उक्त चलचित्रमा खलपात्रको भूमिकामा निर्वाह गरिरहेका थापाको आज छायाङ्कनको अन्तिम दिन शनिबार रहेको उक्त चलचित्रका निर्देशक माइकल चन्दले जानकारी दिएका छन् ।
“शुक्रबार राति १० बजेसम्म अभिनेता थापा छायाङ्कनमै हुनुहुन्थ्यो । हामीले उहाँको सम्पूर्ण काम शुक्रबार राति नै सकाउने तयारी गरेका थियौँ तर उहाँले नै शनिबार बिहान गरौँ भनेपछि सारेका थियौँ । पछिल्लो समय झण्डै चार हप्तादेखि उहाँले चलचित्रमा काम गरिरहनुभएको थियो” उनले भने ।
निर्देशक चन्दका अनुसार खलपात्रको भूमिका निर्वाह गरिरहेका थापाको अन्त्येष्टिकै दृश्य शनिबार छायाङ्कन गर्ने तयारी भएको थियो । उनले निर्वाह गरेका खलपात्रलाई चलचित्रका अभिनेता विराज भट्टले ‘राम नाम सत्य’ को छायाङ्कन गर्ने दृश्य थियो ।
निर्देशक चन्दले भावविह्वल हुँदै भने, “चलचित्रमा उहाँलाई जलाउने दृश्य खिच्नु थियो । हामीले केही दिनदेखि द्वन्द्वका दृश्य छायाङ्कन गरिरहेका थियौँँ, सोही कारण एकहप्तादेखि निरन्तर छायाङ्कनमा संलग्न थियौँ । उहाँले शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म छायाङ्कन गरेर एउटा पारिवारिक समारोहमा सहभागी हुनुपर्ने कुरा बताउनुभएको थियो । शुक्रबार बेलुका नियमित रुपमा छुटिएका थियौँ, त्यो नै अन्तिम भेट भयो ।”
कलाकार थापासँगै चलचित्रमा अभिनय गरिरहेका अभिनेता प्रशान्त ताम्राकारले अभिनेता थापाको निधनलाई पत्याउन गाह्रो भइरहेको बताएका छन् ।
“शनिबार बिहान हामी अभिनेता थापालाई छायाङ्कनका लागि कुरिरहेका थियौँ, अचानक उहाँ नरहेको खबर आयो । मैले चलचित्र ‘राम नाम सत्य’ मा पहिलो दृश्य उहाँसँगै दिएँ, हिजो बेलुकी अन्तिम दृश्य पनि उनसँगै भयो । उहाले मलाई छायाङ्कन अवधिभर प्रोत्साहन गरिरहनुभयो, आफ्नो अनुभवले हामीलाई मार्गनिर्देश गर्नुहुन्थ्यो”, अभिनेता ताम्राकारले भने ।
अभिनेता भुवन केसीले चलचित्र क्षेत्रले देशकै अब्बल कलाकार गुमाएको प्रतिक्रिया दिएका छन् । नेपालीसँगै भारतीय चलचित्रमा स्थापित भएका अभिनेता थापा आफ्नो एक असल मित्र रहेको उनले बताएका छन् ।
“अभिनेता थापा मेरा लागि कलाकारभन्दा पनि असल मित्र हुनुहुन्थ्यो । चलचित्र ‘चिनो’ मा पहिलोपटक काम गरेयता हामीले थुप्रै चलचित्रको सेटमा कैयौँ अन्तरङ्ग क्षण बिताएका थियौँ । मैले निर्माण गरेका चलचित्रहरु ‘सपना’ देखि ‘क्याप्टेन’ सम्म हामीले सहकार्य गरेका छौँ । उहाँ र म अर्कालाई भेट्दा सधैँ के छ दोस्त भनेर सोध्थ्यौँ । उहाँको बिदाइले हामीलाई अपुरणीय क्षति पुगेको छ”, अभिनेता केसीले भने ।
अभिनेता राजेश हमालले अभिनेता थापालाई एक अद्भूत क्षमता भएका सहकर्मीका रुपमा स्मरण गरिरहने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत अभिनेता थापाले कलाकारितामा देखिएको रिक्तता कहिल्यै भरिन नसक्ने उल्लेख गरेका छन् ।
“नेपाली चलचित्रको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ । मेरो चलचित्र यात्रा तपााईंप्रति समर्पित गर्दछु । तपाइको अभाव सधैँ महसुस हुनेछ”, अभिनेता हमालले उल्लेख गरे ।
नेपाली चलचित्र ‘चिनो’मार्फत अभिनेता थापालाई नेपाली चलचित्रमा स्थापित गराएका निर्देशक तुलसी घिमिरेले पात्रलाई जीवन्त बनाउन सक्नु नै उनको खुबी रहेको बताएका छन् ।
“अभिनेता थापाले आफ्नो कामलाई सधैँ गम्भीरतापूर्वक लिएर सम्पन्न गर्न मेहनत गर्नुभयो । पछिल्लो समय मैले चलचित्र ‘पहाड’ मा उहाँसँग काम गरेँ,  उहाँका मेहनत भाव देखेर म खुसी थिएँ । हामीले उहाँको दृश्यलाई समावेश गरेर प्रचार गर्न श्रव्यदृश्य (टिजर) तयार गरेका थियौँ, त्यही देखाउने सल्लाह हुँदै थियो, अचानक दुःखद् खबर सुनेँ । उहाँको अनुपस्थिति हामी चलचित्रकर्मीलाई महसुस हुनेछ”, निर्देशक घिमिरेले भने ।
नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाका अनुसार अभिनेता थापाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि १ बजेर ३० मिनेटसम्म चाबहिलस्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा राखेर पशुपति आर्यघाटमा लगी उनको अन्त्येष्टि सम्पन्न भएको छ ।
अभिनेता थापाको जन्म २०१७ जेठ ६ गते दाङमा भएको थियो । कलाकारिता गर्नुअघि उनले मुम्बईमा मोडलिङ, फुटबल खेल तथा फोटो पत्रकारिताजस्ता क्षेत्रमा काम गरे । भारतीय चलचित्र ‘एक दुजे के लिये’ बाट कलाकारिताको सुरुआत गरेका थापाले नेपाली चलचित्र ‘मसाल’ मार्फत नेपालमा अभिनय यात्रा प्रारम्भ गरेका थिए । करिब ३०० भन्दाबढी चलचित्रमा अभिनय गर्नुभएका थापाले नेपाली, हिन्दी र भोजपुरी भाषाका चलचित्रमा काम गरेका छन् । पछिल्लो समय ‘द फ्यामिली म्यान’ नामक भारतीय वेब शृङ्खलाले उनलाई चर्चामा ल्याएको थियो । नेपाली चलचित्रले एक अनुभवी कलाकार र अमूल्य सांस्कृतिक धरोहर गुमाएको कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले बताएका छन् ।
उनलाई कलाकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् । भारतीय कलाकार प्रियङ्का चोपडा जोनस, मनोज बाज्पायीलगायतले पनि सामाजिक सञ्जालमार्फत अभिनेता थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेतासरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत विशेष रूपमा लोकप्रिय थिए । उनकोे एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २६ माघ २०८२, आइतबार  ५ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।