३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘आ बाट आमा’को कभर सङबाट बर्दियाका दिप्सुले जिते ५१ हजार पुरस्कार



 

काठमाडौं

चलचित्र ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर सङ गाएर बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन्। उनलाई यसै चलचित्रका निर्देशक चन्द्र पन्त,अभिनेता पल शाह,उषा उप्रेती,सिम्रन पन्तले उक्त पुरस्कार प्रदान गरेका हुन्।

निर्देशक चन्द्र पन्तले बर्दियाको बासगढीका दिप्सु परियारलाई हामीले ५१ हजार पुरस्कार प्रदान गरेको बताए। उनले भने,‘हामीले घोषणा गरे बमोजिम नै उहाँलाई हाम्रो टिमबाट पुरस्कार स्वरुप ५१ हजार नगद प्रदान गरेका हौँ।’

एक महिनाअघि ‘आ बाट आमा’निर्माण टिमले उक्त गीतमा आधारित कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको थियो। सहभागीले आ–आफ्नो विधामा तयार पारेको भिडियो माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्ने नियम राखेको थियो। सोही बमोजिम नै दिप्सुले पुरस्कार हात पारेका हुन्।

आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्र ‘आ बाट आमा’को उक्त गीत यतिबेला सामाजिक सञ्जालमा चर्चामा रहेको छ। निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ । माघ १६ गतेबाट हलमा प्रदर्शन भइरहेको यो चलचित्रले सुपरहिट भइसकेको छ।

यस चलचित्रको संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन् भने गीतमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको छ। डीओपी नवराज उप्रेतीले गरेकोयो चलचित्रमा अभिमन्यू निरवीले संवाद लेखेका छन्।

उनलाई संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्। आरआर फिल्मस्ले वितरण गरेको यो फिल्मको डिजिटल अधिकार ओएसआरको छ।

प्रकाशित मिति : ३० माघ २०८२, बिहिबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।