२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रातो मच्छिन्द्रनाथको संग्रालयका लागि ऐतिहासिक सामाग्रीको खोजी सुरु



ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वका सामग्री सुरक्षित रूपमा संरक्षण गर्ने लक्ष्य छ

ललितपुर
ललितपुर महानगरपालिकाले जावलाखेलस्थित रातो मच्छिन्द्रनाथ सङ्ग्रहालयका लागि ऐतिहासिक सामग्री सङ्कलन कार्य सुरु गरेको छ । स्थानीय जनजीवन र संस्कृतिसँग गहिरो सम्बन्ध राख्दै आएको रातो मच्छिन्द्रनाथसँग सम्बन्धित वस्तु, तस्बिर तथा अभिलेख सङ्ग्रहालयमा राख्ने तयारी छ ।

ललितपुर महानगरपालिका ४ का अध्यक्ष सन्तोष खड्काका अनुसार सङ्ग्रहालयमा राख्न गुठी संस्थान तथा रातो मच्छिन्द्रनाथसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई पत्राचार गरिएको छ । “केही तस्बिर सङ्कलन भइसकेका छन् भने अन्य सामग्री सङ्कलनको प्रक्रियामा छन्”, वडाअध्यक्ष खड्काले भने । यस अभियानमार्फत ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वका सामग्री सुरक्षित रूपमा संरक्षण गर्ने लक्ष्य छ ।

वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको प्रमुख सांस्कृतिक पर्वमध्ये एक हो । प्रत्येक वर्ष आयोजना हुने यो जात्रा उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक रथयात्रा मानिन्छ । यही विशिष्ट परम्परा र यसको ऐतिहासिक पृष्ठभूमिलाई व्यवस्थित रूपमा संरक्षण तथा प्रदर्शन गर्न सङ्ग्रहालय निर्माण गरिएको हो ।

महानगरपालिकाले स्थानीयवासी, गुठी, तथा विभिन्न सङ्घसंस्थालाई रातो मच्छिन्द्रनाथसँग सम्बन्धित पुराना सामग्री, तस्बिर, दस्तावेज तथा सांस्कृतिक झल्को दिने अन्य वस्तु उपलब्ध गराउन आह्वान गरेको छ । यसले भावी पुस्तालाई आफ्नो सांस्कृतिक सम्पदाबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

महानगरका अनुसार अबको दुई महिनाभित्र सङ्ग्रहालय निर्माण कार्य सम्पन्न हुनेछ । प्रारम्भिक चरणमा सङ्ग्रहालय अवलोकनका लागि छुट्टै शुल्क लिइने छैन । जावलाखेलस्थित सदर चिडियाखानाको टिकट लिएका आगन्तुकहरूले सोही टिकटमार्फत सङ्ग्रहालय अवलोकन गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ९ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।