१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत




काठमाडौ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह मनोनीत भएका छन् । आज बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको पार्टी महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ ९ञ० को बमोजिम पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनीत गरिएको हो ।

सुनसरीलगायत जिल्लाका पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउनु हुने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टी बैठकले शोकाकुल परिवारजनमा रास्वपाले गहिरो समवेदना प्रकट गरेको छ । साथै घटनामा परी घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत बैठकले गरेको छ ।

https://www.youtube.com/@lalitkhabar

महामन्त्री आचार्यका अनुसार बैठकमा पार्टीको वडा तहदेखि केन्द्रसम्म सम्पन्न प्रथम ऐतिहासिक महाधिवेशनका बहुआयामिक पक्षहरूमा विस्तृत र निर्मम समीक्षा गरिएको छ । लोकतान्त्रिक अभ्यासका क्रममा हरेक तहमा भएका कमी–कमजोरीलाई निसङ्कोच स्वीकार्दै ती अनुभवहरूबाट पाठ सिकेर सिङ्गो पार्टी पङ्क्तिलाई थप परिपक्व र सुदृढ बनाउन सम्पूर्ण प्रक्रियाको बृहत् अध्ययन गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी बैठकले पार्टी विधानको भाग ६ को धारा २३ बमोजिम ‘पार्टी सचिवालय’ गठन गरेको छ । उक्त सचिवालयमा पार्टी सभापतिसहित निर्वाचित पदाधिकारीहरू उपसभापतिद्वय डा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य तथा सह–महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेकी छन् ।

बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन र पार्टीसँगको समन्वयलाई प्रभावकारी बनाउन, महिनाको कम्तीमा एक दिन मन्त्रीहरूसँग पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा समसामयिक र बहुआयामिक विषयमा अनिवार्य छलफल गर्ने निर्णय गरेको छ ।

त्यसैगरी आत्महत्या र आत्मदाह सम्बन्धमा सामाजिक सञ्जाल निर्देशिका सामाजिक संवेदनशीलतालाई गम्भीर रूपमा मनन गर्दै पार्टीका हरेक तह र तप्कामा रहेका सदस्यलाई आत्महत्या र आत्मदाहजस्ता दुःखद् घटना, समाचार वा जानकारीहरू आफ्ना कुनै पनि सामाजिक सञ्जालहरूमा सेयर वा सम्प्रेषण नगर्न केन्द्रीय समितिले निर्देशन जारी गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।