२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बझाङ भूकम्पमा घाइते हुनेको संख्या १३ पुग्यो



१६ असोज । बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा १३ जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको जानकारी दिए । उनले अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए । पाण्डेका अनुसार भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ र घाइतेको अवस्था सामान्य रहेको छ ।
सदरमुकाम चैनपुरमा मोबाइल ग्यालरीको पसल सञ्चालनमा रहेको एकघर, निर्वाचन कार्यालयको भवनसहित कतिपय सरकारी तथा व्यक्तिगत घर चर्किएका छन् । बझाङ मष्टा गाउँपालिका १ नम्बर वडा कार्यालय भवन भत्किएको छ ।
भूकम्पको झड्का महसुस भएपछि बझाङ जिल्ला अस्पताल भवनको बाहिर राखेर बिरामीलाई उपचार सेवा दिइएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बैतडीमा विद्यालयबाट घरतर्फ गइरहेका एक व्यक्तिमाथि ढुंगा खसेको र वन क्षेत्रमा घाँस काटिरहेको अवस्थामा गएको पहिरोका कारण अर्का एक व्यक्ति घाइते भएको जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक बोहराले अछामको एक वडा कार्यालयको भवन भत्किएको जानकारी आएको बताए । डोटीमा पनि केही घर चर्किएका छन् । दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । त्यसपछि पनि पटकपटक परकम्प गएको छ । धनगढीमा पनि भूकम्पको धक्का महसुस भएपछि घर तथा कार्यालयभित्र बसेका धेरै मानिस घर बाहिर निक्किएका थिए ।
धनगढी उपमहानगरपालिकाको स्थानीय आपत्कालीन सञ्चालन केन्द्रले सूचना सार्वजनिक गर्दै भूकम्पको थप परकम्प आउनसक्ने भएकाले नागरिकलाई सुरक्षित रहन सचेत गराएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रले चैनपुर केन्द्रविन्दु भएर छ दशमलव तीन र तलकोट केन्द्रविन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।