२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा



२२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको ठहर गर्दै मधेश प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्री विजय कुमारसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री कुमारसहित सर्लाही, लालबन्दी नगरपालिकाका तत्कालीन नगर प्रमुख मान बहादुर खड्का, मधेश प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेम कुमार श्रेष्ठ, तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल हाल राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषदका सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष रेवती प्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपुरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो । तर तत्कालीन आर्थिक मामिलामन्त्री कुमार र लालबन्दी नगरपालिकाका प्रमुख खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानून विपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा गरेको अख्तियारलको ठहर छ ।

पूर्वमन्त्री कुमार र नगरप्रमुख खड्का, सञ्चालक समितिका पदाधिकारीहरु अध्यक्ष पन्त, महासचिव भण्डारी, कोषाध्यक्ष भण्डारी र सदस्य रायविरुद्ध १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । यस्तै मन्त्रालयका तत्कालीन सचिव श्रेष्ठविरुद्ध ३ करोड २७ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुरमा सोही दफा १९(२) बमोजिम कैद र जरिवानासमेत हुन मागदाबी लिइएको प्रवक्ता दाहालले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।