२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


युद्धग्रस्त इजरायलबाट दुई सय ५३ नेपालीलाई उद्धार पछि आज राति १ः३० बजे आइपुग्ने



काठमाडौँ
२५ असोज । इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५३ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेको थियो । उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल जानुभएको थियो । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो ।

शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । एक जना नेपालीको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्रह गर्दै नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ ।

हालसम्म तीन सय ५० भन्दा बढी नेपाली नागरिकले आफ्नो विवरण उपलब्ध गराएका छन् । विवरण दिनेमध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेको बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिएका छन् ।

इजरायलमा हाल दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको र करिब चार हजार पाँच सय नेपाली अन्य विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको मन्त्रालयको तथ्याङ्क छ । इजरायलमा हाल अध्ययन गरिरहेका दुई सय ६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन् ।

यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । यीमध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना नेपाली दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए ।

इजरायलबाट तत्काल शव ल्याउन भने कठिन देखिएको छ । इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाहरूको शव हस्तान्तरणको कानुनी प्रक्रियाका कारण शव ल्याउन ढिलाइ हुने भएको हो । हालसम्म शवको परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले विमानमा शव ल्याउन नसकिएको हो ।

परराष्ट्र मन्त्रालयले सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रहेको र मृतकहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने जनाएको छ । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुनेबित्तिकै उच्च प्राथमिकताका साथ शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने गरिने छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ३ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।