२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्दै



काठमाडौँ
२ कात्तिक । नेपाली कांग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

विसं २०३३ मा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ । यही परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रम आयोजना गर्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

चियापान कार्यक्रमलाई बिपीको निधनपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले निरन्तरता दिँदै आएको थिए । सुशील कोइरालाको निधनपछि देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।

पार्टीले यस वर्ष पनि विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वको अवसरमा कात्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन अपरान्ह १ः००—५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन बिपी नगर, ललितपुरमा चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकार मन्त्रिपरिषद्का सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको सङ्घ–संस्थाका प्रमुखहरु लगायतका बिशिष्ट महानुभावहरु, कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिता हुने पनि पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  ३ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।