१४ कात्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताएका छन् ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले भने, ‘नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्र सङ्घ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्र सङ्घका तर्फबाट सम्मान व्यक्त गर्दछु ।’
नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेकामा शुभेच्छा व्यक्त गर्दै उनले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पुर्याउन आग्रह गरे ।
महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताए । साथै उनले नेपाली सेनाले राष्ट्रसङ्घीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको बताए । यसै क्रममा गुटेरेसले शान्ति मिसनको समयमा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा एक मिनेट मौनधारण गर्न प्रस्ताव गर्दा बैठकमा सबै सदस्यहरुले आफ्नो स्थानबाट उठेर मौनधारण गरका थिए ।








प्रतिक्रिया