२६ माघ २०८२, आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


टीकापुर जग्गा प्रकरण– पदाधिकारीसहित २४९ जनाविरुद्ध मुद्दा दायर



२५ माघ । कैलालीको टीकापुरस्थित सरकारी जग्गा हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास समितिका २७ पदाधिकारीसहित २४९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

टिकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार र धिजराज रेग्मीले आ–आफ्नो कार्यकालमा सरकारी जग्गा व्यक्तिको नाममा गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले दायर गरेको मुद्दामा टीकापुर क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर जग्गा व्यक्तिको नाममा गरी भ्रष्टाचार गरेको माग दाबी गरिएको छ । तत्कालीन अध्यक्ष जोशीले १२६ व्यक्तिको नाममा नामसारीको निर्णय गरी दुई करोड १२ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

अर्का अध्यक्ष ताम्राकारले आठजनाको नाममा नामसारीको निर्णय गरी ५९ लाख ३८० रुपैयाँ भ्रष्टाचार गरेको र तत्कालीन अध्यक्ष रेग्मीले ९ जनाका नाममा नामसारीको निर्णय गरी ६६ लाख ८९ हजार ८९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको छ ।

टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी जग्गा व्यक्ति तथा संघ(संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गरेको खुलेको थियो ।

यसरी जग्गा हडप्दा नगर विकास समितिको नाममा नक्कली कागजातहरु खडा गरेको अख्तियारको आरोप छ । यस्तै उक्त जग्गाधनी लगायत अन्यविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।

टीकापुर बजार क्षेत्र वरिपरिको करिब ३० बिघा सरकारी जग्गा टीकापुर विकास समितिका पदाधिकारीको नाममा दलका कर्यकर्ता र उनीहरूका आफन्तलाई वितरण गरिएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।