१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई आजका एक दिनका लागि भए पनि सदन अवरोध नगर्न आग्रह गरेका छन्।
मंगलबार बालुवाटारमा भएको प्रधानमन्त्री प्रचण्ड, कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले आफू सहकारी प्रकरणको समस्या समाधानका लागि लागी परेको भन्दै आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत हुने हुँदा आजैका लागि भएपनि सदन अवरोध नगर्न आग्रह गरेका छन्।
बैठकबाट बाहिरिँदै प्रमुख सचेतक लेखकले छलफलमा प्रधानमन्त्री प्रचण्डले राखेको कुरालाई बताउँदै भने,‘सहकारी ठगी प्रकरणमा भएको समस्या समाधान गर्नका लागि म पूरै कोसिस, काम गरिराखेको छु। म समस्या समाधानतर्फ नै उन्मुख छु। समाधान गर्छु। आज नेपाल सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलबाट सार्वजनिक हुने भएकाले त्यो सम्बोधनलाई तपाईंहरूले अवरोध नगरिदिनूस् भन्नु भयो।’
यस्तै, प्रमुख सचेतक लेखकले सदन अवरोध बारे केही बेरमा बस्ने संसदीय दलको बैठकमा छलफल गरेर निष्कर्षमा पुग्ने बताए।








प्रतिक्रिया