३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २१ मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । आज (सोमबार) बिहान ११ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा प्रधानमन्त्री, दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीले दलित शून्य २२ सदस्यीय मन्त्रिपरिषदमा दुई जना महिला मन्त्री नियुक्त गरेका छन् । आरजु राणा देउवा परराष्ट्र र विद्या भट्टराई शिक्षा मन्त्री नियुक्त भएका छन् ।
प्रधानमन्त्री ओलीले प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री नियुक्त गरेका छन् । पौडेललाई अर्थ र सिंहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । आकांक्षी सांसदहरू धेरै भएकाले एकै पटक मन्त्रिपरिषद्लाई पूर्णता दिने नीति ओलीले अपनाएका छन् । तर यसरी मन्त्रिपरिषद् गठन गर्दा समावेशीतामा प्रधानमन्त्री ओलीको ध्यान नपुगेको देखिएको छ ।
आइतबार रातिसम्म मन्त्री बन्ने निश्चित भएका पार्टी सचिव छविलाल विश्वकर्मालाई सोमबार बिहान मन्त्री बन्ने सूचीबाट हटाइएको छ ।
प्रतिक्रिया