३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सदनमै उपसभामुखको राजीनामा माग



२५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद पदम गिरीले संसद्को मर्यादा र गरिमालाई कायम राख्न उपसभामुख इन्दिरा रानाले राजीनामा दिइ मार्गप्रशस्त गर्नुपर्ने विचार व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले संसद्को गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र गरिने व्यवहार संसद्को गरिमासँग जोडिने बताए ।

“उपसभामुखले सम्मानित संसद्को मर्यादा र गरिमालाई कायम राख्नुभएन । संसद्मा विषय उठेको लामो समयसम्म पनि बेवास्ता गर्नुभएको छ”, उनले भने, “संसद्को गरिमालाई बचाउनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्न राम्रो हुन्छ । व्यक्तिप्रति कुनै आग्रह पूर्वाग्रह छैन । तर, संसद्को गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र व्यवहार संसद्को गरिमासँग जोडिन्छ ।”
उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन संसद्भन्दा बाहिरका व्यक्तिका नाममा दूतावासलाई सिफारिस पत्रलेखेर संसद्को गरिमामाथि आचर पु¥याएको दाबी गरे ।

सांसद गिरीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ठूलो सङ्कटबाट गुज्रिको भन्दै यसलाई सुधार गर्न सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने खाँचो औँल्याए । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर खरिद गरिएका विमान सञ्चालन प्रभावकारी नहुँदा ऋणको ब्याज र किस्ता तिर्न कठिनाइ भइरहेको बताए ।

एमाले सांसद सुहाङ नेम्वाङले कुनैपनि मतभिन्नतालाई सहमति र सहकार्यको माध्यमबाट मुलुकलाई समृद्धिको दिशामा आगाडि बढाइनुपर्ने खाँचो औंल्याए । नकारात्मकता र निराशाको भाष्य सिर्जना गरेर युवापुस्तालाई निरुत्साहित बनाउने काम भइरहेको भन्दै सरकार र प्रतिपक्षी दल मिलेर देश र जनताको आवश्यकता र चाहनालाई पूरा गर्न लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याउनुभयो । संवेदनशील विषयमा नियामक निकायका पदाधिकारीलाई जवाफदेही बनाउन नसकिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले ‘सिचेक’का लागि इटाली रहेको नेपाल एयरलाइन्सको विमान चाँडो ल्याउन र उडानलाई प्रभावकारी बनाउन माग गर्नुभयो ।

कांग्रेस सांसद प्रतीमा गौतमले काठमाडौँका विभिन्न स्थानका सडक भत्किएको, खाल्डो परेको र समयमै मर्मत हुन नसक्दा सर्वसाधरणलाई आवतजावतमा कठिनाई भइरहेको उल्लेख गर्दै सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । देशका अन्य स्थानको सडक पनि मर्मत सम्भार गर्दै नजिकिएको चाडपर्वमा सुरक्षित र सहज यात्राको सुनिश्चित गर्न सरकार समक्ष माग गरे । ।

नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले काठमाडौँ महानगरभित्र खोला किनारमा बस्ती निर्माणबारे हालैको सर्वोच्च अदालतको आदेशले खोला किनारका बासिन्दा प्रभावित हुने भन्दै फैसलाको पुनरावलोकन गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १ : ११ बजे