३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तीन महिनामा विपद्‍बाट २२५ जनाको निधन हुँदा ४९ बेपत्ता



३० भदौ । यस वर्ष मनसुन सुरु भएयता विपद्‍मा परी २२५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ जेठ २८ गते नेपालमा मनसुन भित्रिएकोमा त्यस यता विपद्‍जन्य घटनामा परी २२५ जनाको ज्यान गएको हो । यो अवधिमा ४९ जना बेपत्ता रहेको र २८४ जना घाइते भएको प्राधिकरणको तथ्यांकले देखाएको छ । मनसुनजन्य विपद्‍बाट ४ हजार ६१५ परीवार प्रभावित बनेका छन् ।

गतवर्ष यसै अवधिमा ८५ जनाको मृत्यु, २९ जना बेपत्ता भएका थिए भने १२६ जना घाइते भएका थिए। गतवर्ष विपद् प्रभावित परिवारको संख्या ६ हजार ३० रहेको थियो ।

मनसुनजन्य विपद्ले सबैभन्दा धेरै बागमती प्रदेशमा ५७ जनाको मृत्यु र सबैभन्दा कम मधेस प्रदेशमा ५ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । मनसुनजन्य विपद्मध्ये सबैभन्दा धेरै पहिरोबाट १३५ जनाको मृत्यु भएको छ ।

असार २८ गते चितवनको भरतपुर महानगरपालिकाको सिमलतालमा गेग्य्रान बहाबमा परी दुई बसका ६२ जना यात्रु त्रिशुली नदीमा बेपत्ता भएका थिए । जसमध्ये २४ जनाको शव फेला परेको छ भने बससहित बाँकी यात्रु अझै हराइरहेका छन् ।

यसवर्ष कञ्चनपुरको दोधारा चाँदनीमा ऐतिहासिक वर्षा मापन भएको छ । सो स्थानमा सबैभन्दा धेरै ६२४ मिलिमिटर वर्षा भएको प्राधिकरणले जनाएको छ। यो ७७ वर्ष यताकै सबैभन्दा धेरै वर्षा हो ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ४ : ४० बजे