८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


विपीन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा विश्व समुदायको ध्यानाकर्षण



८ असोज । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको सकुशल रिहाइका लागि प्रयास गर्न विश्व समुदायसँग आग्रह गरेकी छन् ।

सोमबार भएको असंलग्न आन्दोलन (नाम)को मन्त्रिस्तरीय बैठकमा उनले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् । नेपाल विपीन जोशीको रिहाइको प्रतिक्षामा रहेको बताउँदै उनले त्यसका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह गरिन् ।

गत अक्टोबर ७ मा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । आक्रमणपछि हमासले जोशीलाई नियन्त्रणमा लिएको थियो ।

सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको परराष्ट्रमन्त्रीले बताइन् ।

विश्वशान्ति स्थापनाका लागि सामूहिक प्रयास आवश्यक भएको बताउँदै उनले भनिन्, “दोश्रो विश्वयुद्धपछि विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ । हामी इतिहासको जटिल मोडमा उभिएका छौं, सशस्त्र द्वन्द्वबाट आफ्ना नागरिकहरुको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नुपरेको छ । जेनेभा अभिसन्धिमा हस्ताक्षर भएको ७५औं वर्षमा हामी छौं तर पनि नागरिकहरुको रक्षाका लागि यसले आत्मसात् गरेका सिद्धान्तहरुलाई बेवास्ता गरिरहेका छौं । यस्तो अवस्थाको चाँडै अन्त्य हुनुपर्छ र हामीहरु सबै शान्तिपूर्ण सहअस्तित्वको सम्मानका साथ अघि बढ्नुपर्छ ।”

परराष्ट्रमन्त्रीले गाजा, रुस र युक्रेनमा जारी द्वन्द्व तत्काल रोकेर समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गरिन् । उनले गाजामा नागरिक, पत्रकार, राष्ट्रसंघीय कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको हत्या, पूर्वाधारहरुमाथिको आक्रमणको निन्दा गरिन् ।

मन्त्री राणाले इजरायल र प्यालेष्टिन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वहरुको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री राणाले नेपाल असंलग्न आन्दोलनको प्रतिबद्ध सदस्य भएकाले सबै देशसँग शान्ति, मैत्री र सहअस्तित्वका आधारमा सम्बन्ध विस्तार गर्न चाहने बताइन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ७ : १४ बजे