२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कङ्कालिनी भगवती मन्दिरमा ६२१ वटा राँगाको बलि चढाइयो



मनकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि दिन भक्तजन मन्दिरमा आउने गरेका छन्
राजविराज(सप्तरी)
२५ असोज । सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडा दसैँको महानवमीका दिन छ सय २१ वटा राँगाको बलि चढाइएको छ ।
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित मन्दिरमा उक्त सङ्ख्यामा बलि चढाइएको मन्दिर विकास समितिका सचिव प्रमु मण्डलले जानकारी दिएका छन् ।
मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा कङ्कालिनी नगरपालिका–१ भलुवा निवासी प्रमोद यादवको राँगाको बलि सुरुमा चढाइएको उनले जानकारी दिए । त्यसपछि क्रमः शुक्रबार १२ बजेदेखि सुरु भएको राँगाको बलि दिने कार्यक्रम साँझ ८ बजेसम्म चलेको थियो । गत वर्ष छ सय तीन वटा राँगाको बलि चढाइएको थियो ।
मन्दिरमा घटस्थापनादेखि महानमवीसम्म करिब ३५ हजारको हाराहरीमा खसीबोकाको बलि दिएको मन्दिर विकास समितिले जनाइएको छ । मनकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि दिन भक्तजन मन्दिरमा आउने गरेका छन् ।
सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी मोरङ, झापा र छिमेकी राष्ट्रिय भारतको विहार राज्यको सुपोल, मधुवनी अररिया बिहारलगायतका ठाउँबाट लाखौँको सङ्ख्यामा यहाँ दर्शनार्थी यस मन्दिरमा यस वर्ष पनि विगतकै जस्तो भीड लागेको थियो ।
त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता गाउँपालिका वडा नं. ३ सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवीसम्ममा करिब ३५ हजारको हाराहारीमा पशुबलि चढाइएको जनाइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।