९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गढीमाई मन्दिरमा दर्शनार्थीको सिक्री चोर्ने तीनजना पक्राउ



घटस्थापनाको दिनदेखि नै विधिवत् रूपमा सुरु भएयता चार दर्शनार्थीहरूको सुनको सिक्री चोरी भएका

बारा
१८ कात्तिक । बरियारपूरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोर्ने पर्साका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका—१६ बस्ने शम्भु राय, सन्दिप राय र पर्सा पकहाँमैनपूर गाउँपालिका– ५ का पवन यादव रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

हिजो मन्दिरमा आएका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो । पछि मेलामा जडान गरिएको सिसिटिभीमा हेर्दा तीनै जनालाई पहिचान गरी सोही आधारमा पक्राउ गरिएका प्रहरीलाई उद्धृत गर्दै महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले जानकारी दिएका छन् ।
उनीहरूमध्ये एक जना आज एक दर्शनार्थीको पाइन्टको खल्तीबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिए ।

गढीमाई मेला असोज १७ गते घटस्थापनाको दिनदेखि नै विधिवत् रूपमा सुरु भएयता चार दर्शनार्थीहरूको सुनको सिक्री चोरी भएकामा चारै जनालाई पक्राउ गरिएको यहाँले बताए ।
मेलामा सुरक्षाका लागि २० ठाउँमा सिसिटिभी जडान गरिएका र १० वटा थप्ने काम भइरहेको मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष एवम महागढीमाई नगरपालिका प्रमुख यादवले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मेला अवधिभर सुरक्षाको यथोचित प्रबन्ध गरिएकाले ढुक्क भएर मेला भर्न दर्शनार्थीहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ८ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।