१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा जनता



दमौली (तनहुँ)
तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् । सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ ।

विसं २०३७ मा सो पुल निर्माण भएको थियो । अब पुल यात्रु धान्न नसक्ने अवस्थामा जीर्ण बनेको स्थानीय शिवराज पौडेलले बताएका छन् । एकै पटकमा सयौँले पुल तर्दा पिङझैँ हल्लने गरेको उनले बताएका छन् । उनले भने, “अब यो पुलको विकल्प खोज्नुपर्ने बेला आएको छ ।”

देवघाट जान हाल उक्त झोलुङ्गे पुलबाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा पक्की पुल सञ्चालनमा छ । तर देवघाट जाने अधिकांश भक्तजनले चितवनको आपँटारी हुँदै यही पुल प्रयोग गर्छन् ।

देवघाट गाउँपालिका–५ का अधिकांशले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रुपमा सो पुल प्रयोग गर्दै आएका छन् । पुलबाट दैनिक सयौँ मोटरसाइकल वारपार गरिँदै आएको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त पुल मर्मतसम्भार गरेर मात्र नहुने अवस्थामा पुगेको बताए । यहाँ पक्की पुलकै आवश्यकता देखिएको उनले बताएका छन् । उनले भने, “गाउँपालिकाको स्रोत साधनले सम्भव छैन । प्रदेश सरकार र सङ्घीय सरकारले पहलकदमी लिनुपर्छ ।”

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।