१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोशीटप्पुमा पर्यटक चराको आगमन बढ्दो



बेलबारी (मोरङ)
कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को चरा फेला परेका छन् ।
गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए । गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा–एउटा मात्र फेला परेको आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताएका छन् ।

सन् १९८७ देखि हुँदै आएको गणनामा जलपक्षीका प्रजाति, तिनको सङ्ख्या र बासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिने उनले बताएका छन् । सुरक्षित बासस्थान, पर्याप्त आहारा, सिमसारको संरक्षण अनि मनाव चहलपहल कम गर्नसके सिमसार खोलानालामा आगन्तुक चराको सङ्ख्या बढ्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए ।

एनका अनुसार असोजदेखि अन्यत्रबाट पर्यटक चरा पुुससम्म आउने क्रम जारी रहन्छ र चैत लागेसँगै फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानी बनेको छ । करिब ५० प्रजातिका बटुवा चरा कोशीटप्पु, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी क्षेत्रमा रहने केन्द्रप्रमुख गौतमले बताए ।

 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।