१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारले ल्याएको अध्यादेशलाई पारित गर्ने सत्तापक्षीय दलको निर्णय



काठमाडौं । सरकारलाई समर्थन गरिरहेका दलका शीर्ष नेतासहितको बैठकले सरकारले ल्याएको अध्यादेशलाई पारित गर्ने सहमति जनाएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको सत्तापक्षका दलहरूको बैठकले भूमि सम्बन्धी अध्यादेशको विषयमा प्रतिस्थापन विधेयक ल्याउँदा सबैका मुद्दा र भावना समेट्ने गरी छलफल अघि बढाउने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी थिए ।

बैठकमा सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशहरूलगायत विषयमा छलफल भएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

अब अध्यादेश स्वीकृत हुने प्रक्रिया अगाडि बढ्ने पनि गृहमन्त्री लेखकले बताए । ‘यसमा सबै राजनीतिक दलहरू सहमत भएका छौँ। चाँडै अगाडि बढ्छ,’ उनले भने ।

अध्यादेश स्वीकृत गर्दा बहुमत पुग्ने गरी छलफल भएको पनि गृहमन्त्री लेखकले दाबी गरे । उनले भने, ‘जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राज किशोर यादवसँग पनि फोनमा वार्ता भएको छ ।’

राष्ट्रिय सभाको बैठक फागुन ६ गते बस्ने भएकाले त्यसै दिन अध्यादेश संसद्को कार्यसूचीमा चढ्ने उनले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ४ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।