१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा एमालेद्वारा पाथीभरामा केबुलकारको निर्माण अगाडि बढाउन आग्रह



काठमाडौँ
नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा बन्न थालेको केबुलकारको निर्माण प्रक्रिया अगाडि बढाउन सम्बन्धितलाई आग्रह गरेको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको बैठकपछि महासचिव शंकर पोखरेलले पाथीभरा मन्दिर केबुलकारका सम्बन्धमा भएको विवाद समाधान गर्नका लागि स्थानीय जनप्रतिधि, प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर समाधान गर्न आग्रह गर्दै केबुलकार बनाउने प्रक्रियालाई अगाडि बढाउन सम्बन्धित पक्षलाई भूमिका खेल्न आग्रह गरका छन् ।

एमालेको जनसङ्गठनका पदाधिकारी र केन्द्रीय कमिटीको सदस्यको सङ्ख्या घटाउने
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको जनसङ्गठनको केन्द्रीय कमिटी सदस्यको सङ्ख्या घटाउने निर्णय गरेको छ ।

जनसङ्गठन समन्वयसम्बन्धी निर्देशिका संशोधन गर्दै ठूला जनसङ्गठनको केन्द्रीय कमिटी १५१ सदस्यीय र साना जनसङ्गठनको केन्द्रीय कमिटी सङ्ख्या ९९ सदस्यीय राख्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले जनसङ्गठनलाई व्यवस्थित गर्नका लागि अब हुने महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्य सङ्ख्या घटाउने निर्णय गरिएको बताएका छन् ।

यसैगरी, बैठकले जनसङ्गठनका पदाधिकारी सङ्ख्या पनि घटाएको छ । यसअघि १७ जना पदाधिकारी रहने व्यवस्था गरिएको थियो ।

महासचिव पोखरेलका अनुसार जनसङ्गठनका पदाधिकारीलाई नौ राख्ने र त्यसमा अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित दुई, महासचिव एक, उपमहासचिव एक, सचिवहरुमा (प्रचार, विदेश विभाग र सङ्गठन) हेर्ने गरी तीन र कोषाध्यक्ष एकजना राख्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले जनसङ्गठनमा केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी मात्र रहने व्यवस्था गरिएको छ । “यसअघि जनसङ्गठनमा केन्दीय सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी रहने व्यवस्था थियो । अब स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी मात्रै रहने गरी निर्णय भएको छ,” महासचिव पोखरेलले भने ।

बैठकले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे र स्थानीय विकास विभागको सचिवमा नवराज गेलाललाई मनोनयन गर्ने निर्णय गरेको छ ।

यसैगरी, पार्टीले प्रदेश तह र स्थानीय तहमा आफ्नो पार्टी विजयी भएका ठाउँमा नीति, कार्यक्रम र बजेटको सम्बन्धमा छलफल भएको छ ।

यस्तै बैठकले स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षको राष्ट्रिय भेला गर्ने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिनएका छन् । भेला आगामी चैत महिनामा गर्ने निर्णय भएको छ ।

प्रदेश तहमा मुख्यमन्त्री, मन्त्री, दलका नेता, प्रमुख सचेतक र प्रदेशका पदाधिकारी र इन्चार्जसहित संयुक्त भेला आयोजना गरेर नीति, कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने निर्णय गरेको छ ।

यस्तै पार्टी सम्बन्ध विभागलाई सरकारको नीति तथा कार्यक्रममा आगामी चैत १५ गतेभित्र सुझाव पेस गर्न निर्देशन दिएको छ । पार्टीले विदेश भ्रमणका लागि मापदण्ड बनाएको छ ।

“विदेश भ्रमण जानपूर्व पार्टीसँग अनुमति लिनुपर्ने र कुन संस्था कुन प्रयोजनका लागि आयोजना गरेको हो । त्यो पर्याप्त जानकारी दिनुपर्ने र विदेश भ्रमण भइसकेपछि पार्टी र मुलुकको प्रतिष्ठा बढाउने हिसाबले भूमिका निर्वाह गर्नुपर्ने र आइसकेपछि आफ्नो भ्रमणका बारेमा प्रतिवेदन पार्टीलाई बुझाउनुपर्ने विषय मापदण्डमा राखिएका छन्,” महासचिव पोखरेलले भने ।

यस्तै, बैठकले नेपाल कम्युनिष्ट पार्टीको ७६आँै स्थापना दिवसका अवसरमा कम्युनिष्ट योद्धालाई सम्मान गर्ने निर्णय गरेको छ । प्रत्येक प्रदेशबाट एक÷एक जनाको दरले कम्युनिष्ट योद्धा सम्मान गर्ने भएको उनले जानकारी दिएका छन् ।

यस्तै, बैठकले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सदस्यमा मनोनयन गरेका जयचन्द्र स्वाँर, रामबहादुर बुढा, नन्दबहादुर सिंह कडायत र अमर विकको नाम अनुमोदन गरेको छ ।

बैठकले पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीका दाजु फणीन्द्र ज्ञवाली र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडालका धर्मपत्नी शान्ति वडालको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको थियो ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १० : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।