१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवीन्द्र मिश्र, धवलशमशेर जबरासहित ४१ जनामाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप



काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका ४१ जनामाथि अनुसन्धान गर्नका लागि ५ दिन म्याद थप भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित ४१ जनालाई काठमाडौं प्रहरी परिसरले आइतबार म्याद थपका लागि अदालत पुर्‍याएको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूमाथि अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरेको हो। पक्राउ परेका मिश्र, जबरा, धर्मुगुरू पुष्कर खतिवडासहित ११ जनालाई राजद्रोहको मुद्दामा अनुसन्धान हुनेछ। अन्यलाई संगठित अपराध, आपराधिक उपद्रव मुद्दामा अनुसन्धान हुनेछ।

शुक्रबार प्रसाईंको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले समर्थन गरेको थियो भने राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएको थियो। राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र सुवेदी नेतृत्वको समितिको सदस्य सचिव र महामन्त्री राणा आन्दोलन परिचालन समितिमा थिए।

समितिको कमाण्डर दुर्गा प्रसाईं भने फरार छन्। उनल आइतबार मात्रै सामाजिक सञ्जालबाट भिडिओ सन्देश जारी गर्दै आफू नभागेको बरू काठमाडौंकै एउटा मन्दिरमा सुरक्षित भएर बसेको बताएका थिए। शुक्रबार तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो।

दर्जन बढी गाडीमा आगजनी र विभिन्न निजी तथा सरकारी भवनमा आगो लगाएका थिए। प्रदर्शनका क्रममा सय भन्दा बढी सुरक्षाकर्मी र पचास बढी प्रदर्शनकारी घाइते भएका थिए। प्रदर्शनमा सहभागी भएका अरू मानिसहरुको पनि प्रहरीले खोजी तीव्र पारेको छ।

तीनकुने क्षेत्रको सिसिटिभी फुटेज, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएका भिडिओ र तस्बिरहरू हेरेर प्रहरीले संलग्नहरुको खोजी गरेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रहरीले उनीहरूको खोजीका लागि विभिन्न युनिट खटाएको छ। घटनाको अनुसन्धान काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विश्व अर्यालले नेतृत्व गरेका छन्।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।