भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा हृदयविदारक घटना घटेको छ । आइतबार राति एकै परिवारका ४ जनाको सामूहिक हत्या भएको छ ।
छुरा प्रहार गरी ससुराली पक्षका सदस्यको ज्यान लिएको अभियोगमा ज्वाइ राजेन्द्र राई गम्भीर घाइते अवस्थामा फेला परेका छन् । उनी अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।
प्रहरीका अनुसार अन्दाजी ३० वर्षीय राईको पेटमा २–३ ठाउँमा छुरी प्रहारको गहिरो चोट देखिएको छ । प्रारम्भिक बयानमा राजेन्द्रले राति सुतिरहेको बेला सासूले आफूमाथि छुरी प्रहार गरेपछि उनले छुरी खोसी आत्मरक्षामा ससुरालीका सबै सदस्यमाथि आक्रमण गरेको दाबी गरेका छन् ।
छुरा प्रहारबाट ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी, १६ वर्षीया पत्नी मनिषा गिरी र ९ वर्षीय सालो सपन गिरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
हत्या गरेपछि राई स्वयं हुर्बु भञ्ज्याङ पुगेर प्रहरीलाई फोन गरी ‘मैले ४ जनालाई छुरी हानेर आएको छु, शायद मरिसके होलान्’ भनेका थिए । प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर अनुसन्धान थालेको हो ।
प्रारम्भिक अनुसन्धानअनुसार राजेन्द्रको मनिषासँग दोस्रो विवाह थियो । पहिलो श्रीमतीले छाडेपछि केही महिनाअघि उनले १६ वर्षीया मनिषालाई भगाएर विवाह गरेका थिए । तर मनिषाको उमेर नपुगेको, तथा पारिवारिक असहमतिको कारण उनका ससुरा–सासू विवाहविरुद्ध थिए । एक महिनाअघि माइती फर्किएकी मनिषालाई लिन राजेन्द्र केही दिनअघि ससुराली गएका थिए । तर, विवादपछि उनीमाथि आक्रमण भएको दाबी गर्दै उनले हिंसात्मक जवाफी कारवाही गरेका हुन् भन्ने प्रहरीको प्रारम्भिक अनुमान छ । चारै शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाइएको छ भने घटनाले गाउँमा त्रास फैलिएको छ ।








प्रतिक्रिया