२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सदस्यता नवीकरण भइसक्यो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो : विद्या भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरिसकेको स्पष्ट पारेकी छन्। आइतबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग च्यासलस्थित पार्टी कार्यालयमा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सदस्यता नवीकरणको विषय ‘पहिल्यै सकिएको’ बताइन्। सदस्यता विवादबारे प्रश्न गर्दा उनले भनिन्, “मैले पहिल्यै नवीकरण गरिसकेको छु। बाँकी काम आधिकारिक च्यानलबाट हुन्छ।”

उनले ओलीसँगको आजको भेटमा राष्ट्रिय राजनीतिमाथि मात्रै कुराकानी भएको उल्लेख गर्दै भनिन्, “उहाँसँग मेरो राष्ट्रिय राजनीतिको बारेमा मात्रै कुराकानी भयो।”

पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीचको छलफल झन्डै दुई घण्टा लामो भएको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिएका छन्।

उनका अनुसार छलफल पछिल्लो समसामयिक राजनीतिक परिस्थितिमै केन्द्रित थियो। भेटमा उठेका अन्य विषयहरूबारे भने आधिकारिक रूपमा केही खुलाइएको छैन।

पूर्वराष्ट्रपति भण्डारीले एमाले सदस्यता नवीकरण गरिसकेको भनी खुलेर बोल्नु हालैको पार्टीभित्रको बहस र विधानसँग सम्बन्धित विवादको सन्दर्भमा महत्वपूर्ण सन्देश मानिएको छ।

पछिल्लो समय एमालेको विधानमा उल्लेख भएको ७० वर्षे उमेरहद, दुई कार्यकाल सीमा र भण्डारीको भूमिकाबारे तीव्र बहस हुँदै आएको छ। आजको भेटले भण्डारीको सक्रियता र भविष्यमा उनी कसरी पार्टी राजनीतिमा अघि बढ्छिन् भन्ने विषयमा स्पष्टता दिन थालेको संकेत देखिएको छ।

 

 

 

 

प्रकाशित मिति : ५ श्रावण २०८२, आइतबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।