काठमाडौँ
नेपालमा बाढी, पहिरो, आगलागीजस्ता विपतको घटनामात्रै होइन चट्याङका कारण पनि धेरैको ज्यान जाने गरेको तथ्य सार्वजनिक भएको छ । सक्रिय मनसुन रहेको, देशव्यापी रुपमा पानी परिरहेको पछिल्ला दिनमा चट्याङका घटनाका कारण ठूलो जनधनको क्षति भएको छ ।
राष्ट्रिय विपद् जोमिख न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि साउन ४ गतेसम्म देशभर दुई सय २४ पटक परेको चट्याङबाट २८ जनाको निधन भएको छ । एक सय ६० जना घाइते हुँदा दुई सय ६० परिवार प्रभावित भएका छन् । लेक लागेर ११ जना, जनावरको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ ।
यही साउन ३ गते बिहान १० बजेदेखि चार गते बिहान १० बजेसम्म मात्रै छ वटा आगलागीका घटना घटेका छन् । त्यसबाट छ जनाको निधन भएको छ भने एक घाइते भएका छन् । आगलागीबाट ४० परिवार प्रभावित भएका छन् ।
यो अवधिमा नौ सय ६९ वटा आगलागीका घटना घटेका छन् । त्यसबाट १४ जनाको ज्यान गएको छ । आगलागीमा परेर एक सय ४० जना घाइते भएका छन् । त्यसबाट एक हजार ७९ परिवार प्रत्यक्ष रुपमा प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।
गत वैशाखदेखि हालसम्म वन डढेलोको सङ्ख्या १५८ छन् । त्यसबाट दुई जना घाइते हुँदा २७ घरपरिवार प्रभावित भएका छन् । हावाहुरीका दुई सय ७३ घटना रेकर्ड हुँदा आठको ज्यान गएको छ । कूल ३९ जना घाइते हुँदा पाँच सय ३१ परिवार हावाहुरीका कारण प्रभावित भएका छन् । सो अवधिमा ६३ वटा सर्पदंशको घटना घटेका छन् । सर्पदंशका कारण पाँच जनाको ज्यान गएको छभने ६४ घाइते भएका छन् । ७० परिवार प्रभावित बनेका छन् ।
देशभर बाढीको एक सय ३७ घटना रेकर्ड भएका छन् । त्यसबाट १३ जनाको ज्यान जानुका साथै एक हजार दुई सय ४६ परिवार प्रभावित भएका छन् । बाढीमा परेर २० जना बेपत्ता भएका छन् । पहिरोमा एक सय ८३ वटा घटना रेकर्ड भएको छ । पहिरोमा परेर सात जनाको ज्यान जाँदा नौ घाइते भएका छन् । कूल एक सय ९९ परिवार प्रभावित भएका छन् ।








प्रतिक्रिया