काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेको प्रगति अवमूल्यन गर्दै अनावश्यक आलोचना गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले रंगशाला निर्माण अन्तिम चरणमा पुगेको बताउँदै ढिलाइका कारणहरूप्रति स्पष्टता दिएका हुन्।
बुधबार संघीय संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले रंगशालाको निर्माणमा प्रक्रियागत जटिलता, खरिद प्रक्रिया, भूमि स्वामित्व लगायतका कारणले केही ढिलाइ भएको स्वीकार गरे।
‘रंगशाला त बन्दै छ त! तयार हुने स्थितिमा पुगिसक्यो। यसमा खुसी हुनु छैन, दुई दिन किन नाघ्यो भन्छन्,’ भन्दै उनले आलोचकप्रति आक्रोश व्यक्त गरे।
उनका अनुसार सरकारद्वारा निर्माणको गति बढाउन ३०० दिनको समयसीमा तोकिए पनि कार्य प्रारम्भ गर्नमै ५ महिना लागेको थियो। त्यसपछि वर्षाले समेत काममा अवरोध पुर्याएको उनले बताए।
‘मैले तीव्रताका लागि ३०० दिन भनेको थिएँ,’ उनले स्मरण गर्दै भने, ‘तर हाम्रा प्रक्रियागत झन्झट, खरिद प्रक्रिया र भूमिका स्वामित्वको समस्याका कारण काम सुरु गर्नै पुससम्म लाग्यो।’
प्रधानमन्त्री ओलीले विकासका सकारात्मक काममा समेत नकारात्मक टिप्पणी गर्ने प्रवृत्तिको आलोचना गरे। ‘काम गरेकोमा जस दिन पनि कहिले कहिले सिक्दाखेरि हुन्थ्यो, मानसिकतालाई अलिक सकारात्मक बनाए पनि हुन्थ्यो,’ उनले भने।
सरकार विकास र निर्माणमा प्रतिबद्ध रहेको पुनः दोहोऱ्याउँदै प्रधानमन्त्रीले सबै बाधा र आलोचनाबीच महत्त्वपूर्ण आयोजना अगाडि बढिरहेको विश्वास व्यक्त गरे।








प्रतिक्रिया