काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को क्षमता अभिवृद्धिका लागि भइरहेको विस्तार र निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। हाल भइरहेको भौतिक पूर्वाधार विकासको काम करिब अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।
उनका अनुसार पूर्व र पश्चिमतर्फ नयाँ ट्याक्सी वे निर्माण भइरहेको छ, जसले विमानस्थलको धावनमार्ग (रनवे) को उपयोग क्षमता २५ प्रतिशतले बढाउने छ। यसले आकाश र जमिन दुबैबाट विमानको ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
महानिर्देशक अधिकारीले विमानस्थल क्षेत्रभित्र रहेको नेपाल आयल निगमको डिपोलाई हटाउनुपर्नेमा जोड दिँदै, यदि डिपो स्थानान्तरण नभए समानान्तर ट्याक्सी वेको निर्माण कार्य प्रभावित हुने स्पष्ट पारे।
प्राधिकरणका अनुसार बुद्ध एयरको ह्यांगरको दक्षिणतर्फ दुई वटा नयाँ ह्यांगर, र उत्तरपट्टि नेपाल एयरलाइन्सको एक नयाँ ह्यांगर निर्माण गरिँदैछ। अहिलेको नेपाल एयरलाइन्सको ह्यांगर र नेपाली सेनाको भीभीआईपी क्षेत्र अन्यत्र सारिनेछ, र त्यही स्थानमा आधुनिक सुविधासम्पन्न दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण गरिने योजना छ।
महानिर्देशक अधिकारीका अनुसार नयाँ टर्मिनल भवन निर्माणका लागि ठूलो बजेट आवश्यक रहेकाले यसबारे सरकारसँग थप नीतिगत तथा वित्तीय छलफल आवश्यक रहेको छ।
नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन तयार भएपछि हालको अन्तर्राष्ट्रिय टर्मिनललाई आन्तरिक टर्मिनलमा रूपान्तरण गरिने योजना रहेको प्राधिकरणले जनाएको छ। यस विस्तार परियोजनाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा, सुरक्षा र क्षमता अभिवृद्धिमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ।








प्रतिक्रिया