काठमाडौं । देशभर भइरहेको लगातारको वर्षाले यातायात प्रणाली प्रभावित बनेको छ। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका आठवटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही अन्य सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार कोशी, अरनिको, दशरथ चन्द, भेरी करिडोरलगायतका महत्त्वपूर्ण सडक पूर्ण रूपमा बन्द छन्। सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा पर्ने नेपाल–चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग, र लमजुङको मर्स्याङ्दी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडकखण्ड पूर्ण अवरुद्ध भएका छन्।
त्यस्तै, गुल्मीको सत्यवती गाउँपालिकास्थित रुद्रवेणी–बामी सडक, गुल्मीको चन्द्रकोट गाउँपालिकास्थित रिडी–वामी सडक, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट–डोल्पा भेरी करिडोर, र बैतडीको पाटन नगरपालिकास्थित दशरथ चन्द राजमार्ग पनि पूर्ण रूपमा बन्द छन्।
यसैबीच, काठमाडौंको टोखा–नुवाकोट मार्ग, बाग्लुङको कालीगण्डकी करिडोर, नवलपरासी (पूर्व) को गैँडाकोट खण्ड, मुस्ताङको बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुर खण्ड (पृथ्वी राजमार्ग), तथा रोल्पाको सहिद राजमार्गमा सवारीसाधन एकतर्फी रूपमा आलोपालो गरी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्धले लामो दूरीका यात्रु, आपतकालीन सेवा, तथा मालसामान ढुवानीमा ठुलो असर परेको छ। प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
सुरक्षाकर्मी र सडक डिभिजनका टोलीहरूले सडक खुलाउने प्रयास जारी राखेको जनाइएको छ। वर्षा अझै केही दिनसम्म जारी रहने पूर्वानुमान गरिएकोले पहिरो र सडक अबरुद्धको जोखिम अझै रहने देखिएको छ।








प्रतिक्रिया