२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


८० वर्षीय वृद्धको सुतिरहेको अवस्थामा हत्या



सिरहा
धनगढीमाई नगरपालिका ११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
मङ्गलबार राति यादवमाथि अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेका मृतकका छोरा कपिलदेव यादवले जानकारी दिएका छन् । “घरमा सुतिरहेकै बेला बुबामाथि आक्रमणमा भएको हुनसक्छ । बिहान अबेरसम्म नउठेपछि खोजी गर्ने क्रममा उहाँलाई गम्भीर घाइते अवस्थामा फेला पारेका थियौँ”, उनले भनेका छन् ।
घटनापछि उहाँलाई लहानस्थित प्रादेशिक अस्पताल लगिएकामा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन् ।
यसैबीच, प्रहरी घटनास्थलमा ढिलो पुगेको भन्दै आक्रोशित स्थानीयले पूर्व पश्चिम राजमार्गअन्तर्गत धनगढी बजार क्षेत्रमा टायर बालेर करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए ।
प्रहरी नायब उपरीक्षक पासवानका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद वा पुरानो झगडाको आशङ्का गरिएको छ । उनले भने, “हत्यासम्बन्धी  घटनाको अनुसन्धान तीव्र पारिएको छ, दोषी पहिचान भएसँगै कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ ।”

प्रकाशित मिति : १५ श्रावण २०८२, बुधबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।