काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको छ। पार्टीको अनुशासन समितिको निर्णयअनुसार श्रेष्ठलाई अध्यक्ष पदबाट हटाइएको जानकारी मंगलबार निर्वाचन आयोगमा पत्र दर्ता गरेर गराइएको हो।
पार्टीका अनुसार अध्यक्ष श्रेष्ठले विधान विपरीत ढंगले कार्यवाहक अध्यक्ष तोकेको भन्दै उनलाई पदमुक्त गरिएको हो। पोखराको चर्चित लिचीबारी घुसकाण्डमा मुछिएपछि उनले पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेको विषयमा पार्टीभित्र तीव्र असन्तोष देखिएको थियो।
यस प्रकरणमा पार्टीको अनुशासन समितिले रामलाल डगौराको संयोजकत्वमा बैठक बोलाएर श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो। तर उनीबाट समयमै कुनै प्रतिक्रिया नआएपछि समितिले उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो।
अनुशासन समितिमा डगौरासँगै सुनिता चौधरी र पुण्य बुढा सदस्य रहेका छन्। समितिको निर्णयलाई अब मध्यबानेश्वरमा जारी पार्टीको राष्ट्रिय भेलाले अनुमोदन गर्नेछ। नाउपाभित्र पछिल्ला दिनमा देखिएको नेतृत्व विवाद र विवादास्पद निर्णयहरूका कारण आन्तरिक असन्तुलन बढ्दै गएको छ। रञ्जिता श्रेष्ठलाई हटाउने निर्णयसँगै पार्टीको नेतृत्व संरचनामा ठूलो परिवर्तन आउने अनुमान गरिएको छ।








प्रतिक्रिया