काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। उक्त प्रस्ताव उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्तुत गरेका थिए।
बैठकमा छलफलअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले “नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१” मा सांसदहरूले उठाएका विषय तथा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफमा व्यक्त विचारको आधारमा त्यस प्रतिवेदनमा उल्लेखित सुझावहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए।
बैठकमा सांसदहरूले नेपालको विकास सम्भावना, अन्तर्राष्ट्रिय साझेदारी, तथा स्तरोन्नतिपछि पर्न सक्ने चुनौतीहरूको सन्दर्भमा विविध सुझाव र सरोकारहरू व्यक्त गरेका थिए। प्रधानमन्त्रीले ती सबै विषयलाई गम्भीरतापूर्वक लिई नीतिगत र कानुनी सुधारमार्फत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
राष्ट्रियसभाको अर्को बैठक साउन २३ गते, शुक्रबार बिहान ११:१५ बजे बस्ने कार्यतालिका रहेको छ।








प्रतिक्रिया