काठमाडौं। अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने भएको छ। सरकारले हालै राजपत्रमा प्रकाशित गरेको ऐन संशोधनसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा महत्वपूर्ण परिवर्तन गरिएको हो।
संशोधित कानुनी प्रावधान अनुसार ऐनको दफा ५४ को उपदफा ३ मा उल्लेखित सवारी चालक अनुमतिपत्रको बहाल अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ। त्यसैगरी, लाइसेन्स नवीकरण गरेपछि मान्य हुने अवधि पनि अब १० वर्ष रहनेछ। यसअघि नवीकरणपछि उक्त अवधि ५ वर्ष मात्र हुने व्यवस्था थियो।
सरकारको नयाँ निर्णयले सवारी चालकहरूको झन्झट कम हुनुका साथै प्रशासनिक प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ। साथै, सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्र सञ्चालनमा निजी क्षेत्रलाई पनि अनुमति दिने व्यवस्था गरिएको छ, जसले सेवा विस्तार र परीक्षण प्रणालीको स्तरोन्नति गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
यो व्यवस्था लागू भएसँगै सवारी चालक अनुमतिपत्रसम्बन्धी प्रक्रियामा दीर्घकालीन स्थायित्व कायम हुने सरकारको विश्वास छ।








प्रतिक्रिया